तत्कालै मृत्युदण्ड दिइने सूचनाबाट कैदीहरू त्रसित



टोक्यो, (एजेन्सी) ।

मृत्युदण्ड कुरेर बसेका दुईजना जापानी कैदीले मृत्युदण्डको सूचना मृत्युदण्ड दिइने दिनमै दिइएको विरुद्ध क्षतिपूर्ति मागेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । तिनीहरूका वकिलले सरकारको यस्तो निर्णय अमानवीय भएको र यसले गर्दा मृत्युदण्ड विरुद्ध अपिल गर्ने समय नै नपाउने गुनासो गरेका छन् ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पनि यस्तो नियमको आलोचना गरेको छ । ती दुई कैदीले क्षतिस्वरूप १ लाख ९४ हजार अमेरिकी डलर माग गरेका छन् । मृत्युदण्ड दिइनु केही घन्टाअघि मात्र तिनीहरूलाई त्यसबारे सूचित गरिएको थियो । ती दुई पुरुष कैदीले ओसाकास्थित जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

वकिल युकेता यएदाले भनेका छन्– ‘मृत्युदण्ड दिइने दिन नै त्यसबारे सूचना दिने गर्दा कैदीले त्यसका लागि मानसिक तयारी गर्नसमेत भ्याउँदैन । साथै कैदीहरू हरेक बिहान आफ्नो अन्तिम दिन पो हुने हुन् की भनेर मनमा सन्त्राश पाल्न बाध्य भएका छन् ।’ लामो समयदेखि यस्तो नियमप्रति मानव अधिकारवादी समूहहरूले आपत्ति जनाउँदै आएका हुन् । जापानमा झुण्ड्याएर मृत्युदण्ड दिने चलन छ । अहिले एक सय बाह्रजना कैदी मृत्युदण्ड कुरेर बसेका छन् । यद्यपि, विगत दुई वर्षदेखि कसैलाई मृत्युदण्ड दिइएको छैन ।

जापानजस्तै औद्योगिक मुलुक संयुक्त राज्य अमेरिका र चीनमा पनि मृत्युदण्डको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्