इराकी प्रममाथि भएको हमलाको अन्तर्राष्ट्रिय जगतद्वारा निन्दा



बगदाद, (एजेन्सी) ।

इराकको राजधानी बगदादस्थित प्रधानमन्त्रीको निवासस्थानमा आइतबार ड्रोन आक्रमण भएपछि इराकको स्थिति निकै तनावपूर्ण रहेको छ । गत महिना सम्पन्न संसदीय चुनावमा इरान समर्थित छापामारहरू नराम्ररी पराजित भएपछि तनाव शुरू भएको हो । आइतबार बेलुकीको प्रधानमन्त्री मुस्तफा अल –काधिमी लक्षित सो आक्रमण यता बग्दादको आकाशभरि हेलिकोप्टर उडेको तथा राजधानीको अत्यन्तै कडा सुरक्षा प्रबन्ध गरिएको ग्रीन जोनस्थित प्रधानमन्त्री निवास वरपर सुरक्षा फौजले निरन्तर गस्ती गरिरहेको देखिन्छ ।

इरानसमर्थित छापामार समूहका समर्थकहरूले ग्रिन जोन बाहिर प्रदर्शन शिविर खडा गरी पुनः मत गणनाको माग गरिरहेका छन् । यसैबीच शुक्रबार सुरक्षाकर्मीहरूसँगको भिडन्तमा मारिएको एकजना प्रदर्शनकारीको अन्त्येष्टिमा थुप्रै सरकारी विरोधी राजनीतिक नेताहरू सहभागी भएका छन् । तिनीहरूले हिंसात्मक स्थितिका लागि प्रधानमन्त्रीलाई दोष दिएका छन् ।

सशस्त्र ड्रोनहरूले आफ्नो निवासस्थानमा गरेको हमलामा मुस्तफालाई बायाँ नाडीमा सानो चोट लागेको छ । उनले तत्कालै टेलिभिजनबाट राष्ट्रलाई सम्बोधन गरेका थिए । उनले शान्तिवार्ताको आह्वान गर्दै कायरतापूर्ण रकेट र ड्रोन आक्रमणबाट मातृभूमि र भविष्य निर्माण नहुने बताएका छन् । यस आक्रमणमा उनका सातजना सुरक्षा गार्ड घाइते भएका छन् । यस आक्रमणको विरोध गर्दै विश्वका नेताहरूले प्रधानमन्त्री मुस्तफाप्रति आफ्नो समर्थन व्यक्त गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमान्युयल म्याँक्रो, जोर्डनका नरेश अब्दुल्लाह द्वितीय, बेलायती प्रधानमन्त्री बोरिस जोहन्सन र साउदी अरेबियाले यस आक्रमणलाई ‘आतंकवाद’ को संज्ञा दिएका छन् । यसैगरी इजिप्टका राष्ट्रपति अब्देल फत्ताह एल सिसीले आफ्नो फेसबुकमार्फत

इराकका सम्पूर्ण सुरक्षा फौजलाई एकजुट भएर मुलुकको स्थिरता जोगाउन आह्वान गरेका छन् ।
त्यसैगरी अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले विदेश मन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री मुस्तफालाई फोन गरी हमलाको विरोध गर्दै अमेरिकाको इराकी सरकारमाथि साथ र सहयोग रहेको जनाएको बताएका छन् । यसैबीच भारतले पनि इराकका प्रधानमन्त्री मुस्तफा अल काधिमीमाथि आइतबार बिहान ड्रोन आक्रमण गरी भएको हत्या प्रयासको कडा निन्दा गरेको विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्