धानबालीमा क्षति व्यहोरेका किसानलाई राहत दिइने



नेपाल समाचारपत्र,काठमाडौं ।

सरकारले बाढी, पहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । त्यस्तै, १० कठ्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ बिघादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको उहाँले बताउनुभयो ।

कात्तिक १ देखिको वर्षा, बाढी र डुबानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुबानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धानको न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण भएको उत्पादन लागतका आधारमा किसानले राहत पाउनेछन् ।

किसानलाई राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र सो कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई पेस गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । बेमौसमी वर्षाका कारण सुदूरपश्चिम, लुम्बिनी र प्रदेशमा मात्रै झन्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ ।

क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताउनुभयो । वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

‘तीनवटा प्रदेशका एक लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा असर परेको र जसमध्ये ६७ हजार ९ सय १९ हेक्टरको धानमा पूर्ण क्षति पुगेको छ’ सहसचिव एवं प्रवक्ता सञ्जेलले भन्नुभयो । दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान वर्षात्का कारण क्षति भएको प्रारम्भिक अनुमान छ ।

अनुमानित विवरणअनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ । प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित हुने जिल्लाहरू हुन् । यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २ सय २३ मेट्रिकटन धानमा वर्षाले क्षति पुर्‍याएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षात्ले धेरै असर पुर्‍याएको मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ । प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ । एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ ।

यस्तै, प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षात्को असर धेरै छ । मन्त्रालयका अनुसार प्रदेशको ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा वर्षाको असर र क्षति देखिएको छ । प्रदेशमा ८० करोड रुपैयाँ बराबरको २८ हजार ४६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ । वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआई सकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्