अरू नपाउँदा गाँस मात्रै गयो, नाटक गर्न नपाउँदा सास नै गएजस्तो भयो : कलाकार



विजय नेपाली, पोखरा ।

कोरोना भाइरसको महामारीबाट थलिएको दुई वर्षपछि बल्ल अवस्था सामान्य हुँदैछ। कोरोनापछि अन्य क्षेत्र खुलिसके पनि मनोरञ्जन क्षेत्र भने खुल्न सकिरहेको छैन।

गण्डकी प्रदेशकै एक मात्र रंगमञ्चमा अहिले कुनै पनि नाटक चलेको छैन। पोखरा थिएटरमा नाटक मञ्चन नभएको अवस्थामा नाट्य क्षेत्रमा कार्यरत कलाकारहरूले नै एक समूह बनाई नाटकको मञ्चन गर्ने भएका छन्।

पोखराको रंगमञ्चमा अब नाटक चरणदास चोर मञ्चन हुँदैछ। भारतका प्रख्यात नाट्य निर्देशक कलाकार हविव तनवीरले लेखेका नाटकलाई नेपाली अनुवाद गर्दै तयार पारिएको नाटक पोखरामा समेत मञ्चन गर्न लागिएको हो। सोमबार पत्रकार सम्मेलन गर्दै नाटक मञ्चन हुन लागेको शरद भण्डारीले जानकारी गराए।

‘कोरोनाले नेपाली रंगकर्ममा प्रत्यक्ष असर गर्‍यो। पोखरामा रहेर रंगकर्म गरिरहेका हामी रंगकर्मीमा पनि यसले शारीरिक, मानसिक, सामाजिक र आर्थिक असर पार्‍यो’ नाटकका सह–निर्देशक शरद भण्डारीले भने– ‘कोरोनाले काम जति बिथोलियो तर, असर परेन। हामीलाई गाँसको समस्या भएन, बरु नाटक गर्न नपाउँदा सास नै रोकिएको जस्तो अनुभव भयो। त्यसैले, पनि हामीले आफैँ नाटक मञ्चन गर्ने तयारी गरेका हौं।’

उनका अनुसार कलाकारबाट नै खर्चको जोहो गरेर नाटक मञ्चन गर्न लागिएको हो। समयअनुरूप महामारीको केही सहजता हुँदै गर्दा रंगकर्मलाई कसरी अगाडि बढाउन सकिएला भन्ने विषयमा छलफलपश्चात् नाटकको सिर्जना पक्षमा उनीहरू पुगेका थिए। सामूहिक लगानी र प्रयासबाट रेनेसँ थिएटर स्थापना गर्दै कलाकारबाट नै नाटक मञ्चन हुन लागेको हो। उक्त समूहले हरेक वर्ष एउटा नाटक मञ्चन गर्नेछ।

विभिन्न सात स्क्रिप्ट हेरेर चरणदास चोरको छनोट गरेको सह–निर्देशक भण्डारीले बताए। नेपाली समाज सुहाउँदो र समयानुकूल कथा भएकाले उक्त नाटक मञ्चन गर्न लागेको उनले जानकारी गराए। नाटक हाँस्य चेतको रहेको छ। नाटकमा मानिस जतिसुकै परिवर्तन भए पनि उसको स्वभावमा भने कहिल्यै परिवर्तन नआउने विषय छ। नाटकको निर्देशन भने निश्चल विमलले गरेका छन्। नाटकमा सह–निर्देशक शरद मुख्य पात्र चरणदासको भूमिकामा रहेका छन्। यस्तै, कलाकारहरूमा ध्रु्रवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्ज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिना, मनोज सुनार, एमडी काफ्ले, नौर क्षेत्री, सुशील बराल, अदित भुजेल, विवेक मन, एलिशा विक र सुविना श्रेष्ठ रहेका छन्।

नाटक पहिलोपटक कलाकारबाट नै हुन लागेको र निर्देशक पनि नयाँ रहेकाले निकै चुनौती रहेको मञ्च व्यवस्थापक एलिशा विकले बताइन्। उनले सबै कलाकारले नै काम गर्ने भएकाले आफूहरूलाई चुनौती भए पनि सामना गर्न तयार रहेको बताइन्। ‘हामी नयाँ कलाकार हौँ। हाम्रो ब्याच चौथो ब्याज हो। त्यसैले, हाम्रा लागि चुनौतीको कुरा यो छ कि, हामीले कसरी उत्कृष्ट दिन सक्छौं’ विकले भने। नाटक मंसिर १ गतेदेखि १४ गतेसम्म मञ्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्