सुडानमा बैंक कर्मचारी र डाक्टरहरू सेनाविरुद्ध ओर्लिए



खार्तोम,(एजेन्सी)। 

सुडानको शसस्त्र फौजले विद्रोह गरेर सत्ता हत्याएयता सुडानका सडकहरूमा असन्तुष्ट जनताले व्यापक प्रदर्शन गर्न थालेका छन् । तिनीहरूले सेनाविरुद्ध गगनभेदी नारा लगाउँदै र राष्ट्रिय झण्डा फहराउँदै राजधानी खार्तोमलगायत अन्य शहरका सडकहरूमा अवरोध खडा गरेका छन् । सोमबार सैनिक विद्रोहका नेता जनरल अब्दुल फत्ताह बुर्हानले जन सरकार विघटन गर्नुका साथै प्रधानमन्त्रीलगायत अन्य राजनीतिक नेताहरूलाई गिरफ्तार गर्दै मुलुकमा संकटकाल लागु गरेका थिए ।

यसै गरी सेनाले प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा दशजनाको ज्यान गएको छ । यस सैनिक विद्रोह प्रति अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षण भएको छ । कुटनीतिज्ञहरूले सुडानकै राजनीतिक समस्याबारे छलफल गर्न मंगलबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बस्न लागेको एएफपी समाचार निकायलाई बताएका छन् ।

जनरल अब्देलले भने राजनीतिक अन्तरकलहका कारण सेनाले सत्तामा हस्तक्षेप गर्नुपरेको बताएका छन् । अहिले सेना खार्तोमका घर घरमा प्रवेश गरेर स्थानीय विरोध प्रदर्शन आयोजकहरूलाई गिरफ्तार गरिरहेको बताइएको छ । खार्तोमको विमानस्थल बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू रद्ध गरिएका छन् । इन्टरनेट र अधिकांश फोनका लाइन पनि काटिएका छन् । केन्द्रीय बैकका कर्मचारीहरूले हडताल गरेका छन् । यसै गरी डाक्टरहरूले पनि इमर्जेन्सीमा बाहेक सेना द्वारा सञ्चालित अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्