६१ लाख लगानीमा गाउँमै सामूहिक पशुपालन



सिर्जना पन्त, बागलुङ ।

६१ लाख लगानीमा जैमिनी नगरपालिका–५ बिनामारेमा सामूहिक रूपमा पशु पालन थालिएको छ ।

७७ जनाको समूहले प्रतिव्यक्ति ५० हजारको दरले रकम संकलन गरी श्रीकृष्ण कालीगण्डकी पशुपंक्षी तथा कृषि फार्म सञ्चालन गरेका हुन् ।

कोरोना कहरकै वीचमा गाउँमा विदेशबाट फर्किएका, अवकास लिएर बसेका, रोजगार नभएका युवाहरू मिलेर सामूहिक रूपमा फार्म खोलेर दूध बिक्री शुरू गरेको श्रीकृष्ण कालीगण्डकी पशुपंक्षी तथा कृषि फार्म सञ्चालक समितिका अध्यक्ष दीपेश पौडेलले बताउनुभयो । जैमिनी नगरपालिकाबाट १८ लाख अनुदान र ७७ जनाबाट ५० हजारको दरले रकम संकलन गरी ५४ रोपनी जग्गामा फार्म सञ्चालन गरेको पौडेल बताउनुहुन्छ ।

गाउँमा भएका युवाहरू विदेश पलायन हुने र बजारबाट दूध र दुग्धजन्य चिजहरू किनेर गाउँमा ल्याउनुपर्ने अवस्थालाई ध्यानमा राखेर गाउँमै दूध उत्पादन गरी बिक्री गर्ने योजनाका साथ सामूहिक फार्म सञ्चालन गरिएको उहाँको भनाइ छ ।

‘आफ्नै देशमा गरे के हँुदैन ? हामी सबै मिल्यौ या चाह्यौ भने सम्भव हुन सक्छ, यसका लागि दृढ इच्छा शक्ति र मेहनत चाहिन्छ,’पौडेलले भन्नुभयो–‘यस्तो प्रयासले गाउँमै रोजगारीको समेत सिर्जना हुनेछ ।’

असारदेखि पूर्णरूपमा सञ्चालनमा आएको फार्ममा अहिले १२ वटा भैंसी र ४ वटागाई रहेको छ । पौडेलले भन्नुभयो–‘अहिले जैमिनीका अधिकांश घरमा हाम्रो फार्मबाट दूध जान्छ, दैनिक १ सय २० लिटर दुधविक्री गरेका छौं ।’

उहाँले भन्नुभयो–‘हामीले आगामी दिनमा जैमिनीबासीलाई दूध पुर्‍याएर बागलुङ बजार र कुश्मा बजारमा समेत दुध विक्रीगर्ने योजना बनाएका छौं, हामीले दूधबाट बनाउन मिल्ने कुराउनी, दही, घिउ, पनिर पनि अहिले उत्पादन गरेका छौं, बाँकी दिनमा थप दुग्धजन्य पदार्थबाट बनाउने परिकारहरू तयार गर्ने र विक्री गर्ने योजनामा रहेका छौं, कोरोनाको समय भएका कारणले हामीले चाहे जति भैंसी, गाई फार्ममा पाल्न नसकेको अवस्था छ ।

उन्नत जातका भैँसी र गाई भारतबाट ल्याउने भनिएता पनि कोरोनाले गर्दा महँगो पैसा हालेर पोखराबाट गाई भैसी खरिद गरिएको छ । अहिले गाईको भन्दा भँैसीको दूधको माग बढी रहेको छ ।

फार्म सञ्चालन गरेर गाउँकै ३ जना र पोखराबाट २ जना मानिसलाई रोजगार दिएको श्रीकृष्ण कालीगण्डकी पशुपंक्षी तथा कृषि फार्म सञ्चालक समितिका सदस्य कृष्णबहादुर हमालले जानकारी दिनुभयो । भर्खर मात्र फार्म खुलेको कारणले फार्ममा अझै धेरै काम बाँकी रहेता पनि आधुनिक गोठ बनाएर गाई, भैंसी राखेको हमाल बताउनुहुन्छ ।

‘बाहिरबाट ल्याएका गाई भंैसीलाई यहाँको मौसम नमिलेका कारण बिरामी हुने र मर्ने गरेका छन्, हामीसँग अहिले सबै गाई भैँसी असोज कात्तिकमा दूध दिनेछन्, यो सिजनमा गाउँमा सबैको घर घरमा दूध पाउन सकिन्छ,–उहाँले भन्नुभयो– ‘पुस, माघको समयमा दूधको खडेरी लाग्ने भएकाले अब हामीले ७ वटा भैसी पुस, माघ महिनामा दूध दिने गरी पाल्ने योजनामा छौं । हामीसँग अहिले १ लाख ५० हजार रुपैयाँसम्म पर्ने भैंसी गोठमा छन् ।’

फार्ममा पालिएका गाई भैसीका लागि आफैं घाँस उत्पादन गरिएको छ । ‘हामीले १० वर्षको योजना बनाएर फार्म सञ्चालनमा ल्याएका हौं । अझै धेरै काम बाँकी नै छ, फार्ममा गर्न तर सुरुवाती समयमै हाम्रो फार्मको दूधको माग धेरै भएको हामीले महुशुस गरेका छौ,’ उहाँले भन्नुभयो–‘अहिले हामीले फार्ममै आएर दूध किन्नेलाई १ लिटरको ८० र डेरीलाई बेच्दा १ लिटरको ९० रूपैयाँमा बिक्री गर्ने गरेका छौँँ ।

हामीले महिना १ लाख ५० हजार खर्च कटाएर आम्दानी गरेको छौं, आगामी दिनमा फार्मलाई थप व्यवस्थित गरेर अगाडि बढ्ने योजना रहेको हमाल बताउनुहुन्छ ।

फार्म स्थापित गरेर गाउँबाट विदेश पलायन भएका युवाहरूलाई गाउँमै रोजगारी र अवसर सिर्जना गर्ने मुख्य लक्ष्य भएको हमाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्