गोर्खाली गाथामा मिलनको मिठो कथा



मित्रता अनि प्रेम र त्यागको कथामा मिठो फिल्म निर्माण गर्दै आएका निर्माता निर्देशक मिलन चाम्सले सीमावारि र सीमापारिको मित्रताको कथा बुनेर तयार पारेको म्युजिक भिडियोले प्रशंसा पाएको छ।

विभिन्न देशमा सम्बन्धित देशकै भाषामा रिलिज गर्ने गरी वीर गोर्खालीको गाथामाथि गोर्खा वारियर्स नामक फिल्म निर्माणमा जुटेका निर्माता निर्देशक चाम्सले सीमावारि नेपाल र सीमापारि सिक्किमका दुई युवाको मित्रताको कथा बुनेर सिमाना पारि बोलको गीतमाथि फिल्मी शैलीमा आकर्षक म्युजिक भिडियो निर्माण गरी दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेका हुन्।

आठ मिनेट लामो म्युजिक भिडियो वारमा आधारित फिल्मको शैलीमा शुरू हुन्छ र अन्त्य पनि त्यसै गरी हुन्छ। सिक्किममै पुगेर त्यहाँका रमणीय तथा महत्वपूर्ण स्थलमा समेत छायांकन गरिएको म्युजिक भिडियोमा निर्देशक चाम्सले नेपाल र सिक्किमबीच मिल्दोजुल्दो भाषा, कला, संस्कृति, संस्कार, सभ्यता र परम्पराका साथमा नेपाल र सिक्किमबीचका आफ्नोपन अनि गोर्खालीको बहादुरी, समर्पण र त्यागको कथा पस्केका छन्।

भ्वाइस अफ नेपालका प्रतिस्पर्धी रवि गहतराजका गाएको गीतमा शब्द रचना राजेश घतानीको छ भने संगीत सुरेश राईले भरेका छन्, संगीत संयोजन गोपाल रसाइलीको रहेको छ।

सुदीप बरालको छायांकन निर्देशन र रवीन्द्र न्यौपानेको आकर्षक छायांकनले थप धनी बनाएको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र गायक रवि गहतराजका साथमा चाँदनी प्रधान, प्रेम श्रेष्ठ, त्रिचु राई, शुक्रराज शाह, प्रेम अग्री, मनिल तामाङ, महेश मगर, शशिकला प्रधान, डा. भरत वशिष्टलगायतका कलाकारले अभिनय गरेका छन्।

अर्जुन जिसीले सम्पादन गरेको भिडियोमा अनन्त घिमिरेले कलर संयोजन गरेका छन्। भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्