बाँकेमा वर्षाले धानबालीमा ठूलो क्षति



कुमार श्रेष्ठ, बाँके ।

समयमा पानी परेकाले उत्पादन बढ्ने विश्वास गरिएको बाँकेमा कात्तिकमा परेको अविरल वर्षाले धानबालीमा ठूलो नोक्सानी पुर्‍याएको छ । जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेले लिएको प्रारम्भिक रिपोर्टमा २५ प्रतिशतसम्म धानबाली नष्ट भएको छ ।

जिल्लामा रहेको गौरवको आयोजना सिक्टा सिंचाइले समयमै पानी छोडेको र आकाशे पानी पनि समयमै परेकाले बाँकेमा समयमै धान रोपाईं भएको थियो । जिल्लामा ३६ हजार पाँच सय हेक्टरमा धान रोपिएको थियो ।

समयमै बिउ राख्ने र रोप्ने कार्य भएकाले जिल्लाका कृषि अधिकारीहरूले पनि यसपाली जिल्लामा धान उत्पादन बढ्ने विश्वास गरेका थिए । उनीहरूले प्रारम्भिक रिपोर्ट निकालिसकेका थिए । जिल्लामा गत वर्ष प्रति हेक्टरमा ४दशमलव ३ मेट्रिक टन धान उत्पादन भएको थियो । यस पाली प्रतिहेक्टरमा ४ दशमलव ४ देखि ५ मेट्रिक टनसम्म धान फल्ने आशा गरिएको थियो । धानको उत्पादन बढ्ने रिपोर्ट निकाल्न नपाउँदै बेमौसमी वर्षाले धानमा ठूलो नोक्सानी पुर्‍याएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले प्रारम्भिक रिपोर्टमा २२ देखि २५ प्रतिशत धानबालीमा क्षति भएको बताउनुभयो । उहाँले क्षतिको लगत अझै बढ्ने देखिएको बताउनुभयो ।

ढकालका अनुसार, ९ हजार एक सय ५० हेक्टरमा काटेर राखेको धान डुबेको छ । दश हजार हेक्टरमा पाकेको धान ढलेको छ । ढलेको धानमा कम्तीमा २० प्रतिशत नोक्सानी हुने ढकालको भनाइ छ । काटेर खेतमा राखेको ६० प्रतिशत धानबाली नोक्सान भएको छ । पानी पर्नुअघि बाँकेमा दश प्रतिशत किसानले धान काटेर उठाएका थिए ।

किसानलाई ठूलो मार खेपे पनि अहिलेसम्म प्रदेश र संघीय सरकारले राहतको घोषणा गरिसकेको छैन । स्थानीय सरकारले लगत लिने काम गरिरहेको छ । बाँकेमा कृषि ज्ञान केन्द्रले दु्रतगतिमा लगत लिइरहेको छ । यहाँबाट प्रदेशमा प्रारम्भिक नोक्सानीको लगत पठाइ सकिएको छ । ‘अहिलेसम्म राहतको घोषणा भएको छैन, लगत लिइसकेपछि घोषणा होला, ढकालले भन्नुभयो ।

बाँके धानबालीमा आत्मनिर्भर जिल्लामा पर्छ । सिक्टा सिंचाइले पानी छोड्न थालेकाले किसान उत्साहित थिए । आकाशे पानीको भरबाट मुक्तहुँदै गएका बाँकेका किसानलाई आकाशे पानीले नै बर्बाद बनाएको छ ।

यति बेला किसानहरू खेतमा ढलेको धान उठाइरहेका छन् । सडक या आलीमा धानलाई सुकाइरहेका छन् । अलिकति भए पनि बचिहाल्छ कि भन्ने आशामा छन्, किसान । सरकारले छिटो राहतको घोषणा नगर्दा किसान अझै चिन्तित भएका छन् ।

ठूलो मेहनत गरेर रोपिएको धान काटेर उठाउने बेला र कसैको काट्ने बेलामा नष्ट भएको छ । खेतमा काटेर राखिएको धान उम्रिन थालेको छ । किसानले त्यो धानलाई ओल्टाई पल्टाई सुकाइरहेका छन् । बाला जति हिलोमा गडिएकाले त्यसबाट प्रतिफल आउने देखिँदैन । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकालले काटेर खेतमा राखेको धानको नोक्सानी बढ्दै गएको बताउनुभयो ।

‘छिटो उठाएर उच्च ठाउँमा राखे केही बेच्थ्यो, खेत पनि हिलो छ । किसानले कहाँ राख्ने ?, ढकालले भन्नुभयो– ‘हामीले प्रारम्भिक निकालेको क्षतिको विवरणमा खेतमा काटेर राखेको धानको क्षति बढ्न सक्छ ।’

बाँकेमा गत वर्ष पनि समयमै रोपाईं भएको थियो । तर, गतवर्ष धानमा भुस बढी देखिएको थियो । ढकालका अनुसार, यो वर्ष धानमा धेरै भुस नदेखिएकाले उत्पादन बढ्ने आंकलन गरिएको थियो । अब छिटोभन्दा छिटो प्रदेश र संघीय सरकारले राहतको घोषणा गरेर किसानको दुखाइमा मल्हमपट्टी लगाउनुपर्ने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्