फिल्म प्रदर्शनको विकल्प खोज्नुपर्छ : अभिनेता आकाश



दाङ, (नेस)।

नायक आकाश श्रेष्ठले करिब दुई वर्षदेखि कोरोनाले थिलोथिलो भएको फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म प्रदर्शनका वैकल्पिक माध्यमको खोजी गरिनुपर्नेमा जोड दिएका छन्।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको चलचित्र क्षेत्रको चलायमान कसरी र कहिलेबाट विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अभिनेता श्रेष्ठले दर्शक हलमै गएर फिल्म हेर्ने उचित वातावरण बन्न अझै केही समय लाग्न सक्ने भएकाले दर्शकसम्म नै फिल्म पुर्‍याउन विभिन्न खालका ओटीटी प्लेटफर्म सहितका विकल्प खोज्नतर्फ फिल्म व्यवसायी लाग्नुपर्ने बताए। ‘यदि, यसो गर्न सकियो भने नेपाली फिल्म हेर्ने दर्शक घट्न पाउँदैनन्’ उनको दाबी थियो।

चलचित्र पत्रकार संघ, दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अभिनेता आकाशले भने– ‘यो कोरोना कहरमा दर्शकले घरमै बसेर विश्वका उत्कृष्टभन्दा उत्कृष्ट फिल्म हेरिसकेकाले अब हामीले बनाउने फिल्मले दर्शकको त्यो चाहना मेट्न सक्नुपर्छ। अन्यथा फेरि दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन्।’

कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक ऋषिराज आचार्य, गायिका बिन्दु परियार, नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी लगायतले फिल्म क्षेत्र धरासायी बन्दै गएको भन्दै यसलाई चलायमान बनाउन जिम्मेवार सबै पक्ष लाग्नुपर्नेमा सुझाएका थिए। चलचित्र पत्रकार संघ नेपाल, दाङका निवर्तमान अध्यक्ष युवराज न्यौपानेको स्वागत मन्तव्यबाट शुरू भएको अन्तक्र्रिया कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्