विदाई कार्यक्रममा खेलाडी अनुपस्थित



न्युज अफ नेपाल, काठमाडौं ।

आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका चार खेलाडी तथा प्रशिक्षक विदाई कार्यक्रममा अनुपस्थित भएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले बिहीबार आयोजना गरेको बिदाइ कार्यक्रममा प्रतियोगितामा छनोट भएका खेलाडीहरु अनुपस्थित भएका हुन् । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका चार खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाकसहित बिदाइ गर्ने कार्यक्रम तय भएपनि उक्त कार्यक्रममा सहभागी खेलाडीहरुलाई नेपाल बक्सिङ संघका केही पदाधिकारीहरुले उपस्थित हुन रोक लगाएको आयोजकले जनाएको छ । कार्यक्रमका आयोजकले नेपाल बक्सिङ संघलाई पूर्व जानकारी गरी पत्राचार गरेपनि खेलाडीहरु अनुपस्थित भएको बताएको छ ।

खेलाडी अनुपस्थित भए पनि लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले लोकतान्त्रिक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र उनीहरुको हक अधिकारका लागि सदैव अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल्न शुभकामना दिए । उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विभिन्न नगद पुरस्कारको घोषणा समेत गरे । उनले प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण जितेमा १ लाख ५० हजार, रजतका लागि एक लाख र कांस्य पदक प्राप्त गरेमा ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे ।

खेलाडीहरु अनुपस्थित भएपछि च्याम्पियनसिपमा सहभागिता जनाउने चार खेलाडी र प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठ हस्तान्तरण गरिएको थियो । बक्सिङ संघले खेल भावनाविरुद्ध काम गरेको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले घोर भत्र्सना गर्दै आपत्ति जनाएको छ । लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष गुरुङले बक्सिङ संघको गैरजिम्मेवार र स्वेच्छाचारी कार्यका विरुद्ध सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दै कारवाहीका लागि पहल गर्ने बताए । उनले आफू पनि नेपाल बक्सिङ संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरित कामहरु गरेको कारण संघका पदाधिकारीहरुबीच पनि बैमनस्यता देखिएको बताए ।

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले खेलकुदजस्तो स्वच्छ ठाउँलाई नेपाल बक्सिङ संघको अहिलेको कार्यसमितिले घरायसी संघका रुपमा सञ्चालन गरेको र खेलाडीलाई खेल भावनाविरुद्ध परिचालन गरेको आरोप लगाए । कार्तिक ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भूपेन्द्र थापामगरले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्