लक्ष्मणका कथामा स्वास्थ्य क्षेत्रको व्यथा



♦ कपिल काफ्ले

पत्रकारिता जगत्मा ‘इन्भेष्ट’ र ‘इन्डेप्थ’ को विशेष महत्व छ । विशेष भएकैले इन्भेष्टिगेटिभ जर्नलिजम नगरीकन ‘वरिष्ठ’ बनेका पत्रकारको परिमाण ८० प्रतिशत नाघ्छ भन्ने यस समीक्षकको अनुमान छ । ‘इनडेप्थ जर्नलिजम’ सम्म गरेर वरिष्ठ हुनेहरुको संख्या पनि ५० प्रतिशतभन्दा माथि छैन । तर, लक्ष्मण अधिकारीले दुवैखाले पत्रकारिताको अभ्यास गर्ने सफलता हासिल गर्नुभएको छ, त्यसपछि मात्र वरिष्ठ हुनुभएको हो ।

त्यसोभए जीवनमा सामान्य समाचार, फिचर र लेखहरु लेखेरै जीवन गुजारेका ५० प्रतिशतभन्दा बढी पत्रकार ‘वरिष्ठ’ को विशेषण बोकिरहेका छन् त ? तपाईंको दिमागमा यो प्रश्न उब्जिएको हो भने यो पक्तिकार प्रसन्न भयो । किनभने यसले सर्वे गरेरै भनेको त होइन, तरपनि यस क्षेत्रमा चार दशक लामो सघन अभ्यास गरेको अनुभवका आधारमा खोजी र गहन पत्रकारिता गर्ने पत्रकारको संख्या अत्यन्त न्यून छ ।

‘इनडेप्थ जर्नलिजम’ त्यस व्यक्तिले नै सफलताका साथ गर्नसक्छ जसले खास विधामा गहन अध्ययन र अभ्यास गरेको छ । लक्ष्मण अधिकारीले स्वास्थ्य क्षेत्रलाई ‘बिट’ बनाएर वर्षौं पत्रकारिता गर्नुभएको छ । त्यसैले स्वास्थ्य क्षेत्रमा ‘इनडेप्थ जर्नलिजम’ गर्न उहाँ योग्य हुनुहुन्छ । यही योग्यता ‘मर्फिन’ कथा संग्रहमा उहाँले प्रमाणित गर्नुभएको छ– आफ्ना २१ जीवन्त रचनाहरुबाट ।

‘मर्फिन’ मा स्वास्थ्य क्षेत्रको मर्म छ । सुरुदेखि नै सरसर्ती हेरौं । ‘थुना परेको राजा’ मा बाबुआमा नै ख्यातिप्राप्त डाक्टर छन्, सधैं काममा व्यस्त तर छोरा आफूलाई थुना परेको राजा ठान्छ– यसो नगर, उसो गर, यस्तो खाऊ, त्यस्तो नखाऊ, यो पढ त्यो नपढ भन्ने अनुशासनले उसलाई कैदीजस्तो बनाएको छ ।

नियन्त्रित छोरो भन्छ– आमाले डुंगा बनाउने, बुबाले चलाउने गर्दा मात्र जीवन अर्थपूर्ण हुँदोरहेछ भन्ने मैले अहिले बुझें । आफ्नै लोकप्रियतामा रमाउने र पेशालाई प्राथमिकता दिने बाबुआमाको छोरो साहित्य बोल्छ, ‘आमा मलाई धेरै माया गर्नुहुन्थ्यो, तर सधैं केही नपुगेजस्तो । गुलियो विनाको क्याटबरीजस्तो !’

उसले आफ्नै उमेरको छिमेकी उत्सवसँग आफूलाई तुलना गर्छ, सामान्य जीवन यापन गर्ने घरपरिवार नै उसलाई अधिक आकर्षक लाग्छ, ‘म सुखी भए पनि मभन्दा उत्सव नै खुसी थियोजस्तो लाग्छ । मिल्ने भए ऊसँग जीवन साँट्थेंहोला ।’ उसलाई आफ्नो बाबु ठूलो डाक्टर हुनुभन्दा असल बुबा भइदिएको भए हुन्थ्यो भन्नेलाग्छ ।

उसको निष्कर्ष छ– जो असल बुबा बन्न सक्तैन, ऊ कसरी असल डाक्टर हुनसक्छ ।मनोवैज्ञानिक विश्लेषण पनि स्वास्थ्यकै एक अंग हो । ‘रोगको कारणले भन्दा पनि रोगले मरिन्छ भन्ने चिन्ताले उसको शरीर गल्दै थियो’ कथाकार लक्ष्मण ‘मान्छेको आयु’ उसको आत्मवलमा निर्भर गर्दछ भन्ने देखाउँदै दार्शनिक चिन्तन अघि सार्नुहुन्छ ।

संसारमा असफलता भनेको स्थायी हुँदैन, यो त जीवनलाई अर्को तरिकाबाट अघि बढ्न सिर्जना भएको नयाँ प्रस्थानविन्दु हो, जुन सफलतामा गएर टुंगिन्छ– डाक्टरले पाँच वर्ष आयु तोकेका बिरामी १५ वर्षसम्म स्वस्थ रहनु यसकै उदाहरण हो ।

कथाकार लक्ष्मण प्रष्ट शब्दमा लेख्नुहुन्छ, ‘मस्तिष्कको स्थितिले शरीरको अवस्थालाई प्रभाव पार्छ, नकारात्मक सोचले नकारात्मक र सकारात्मक सोचले शरीरमा सकारात्मक प्रभाव पार्छ ।’ वास्तवमा कतिपय बिरामी रोगले भन्दा पनि मर्छु भन्ने गलत विश्वासले मर्छन् ।कथा ‘मी टु’ मा स्वास्थ्य क्षेत्रमा हुने यौनहिंसाका विभिन्न पाटाहरु उजागर भएका छन् ।

‘मिर्गौला चोर’ मा परिवारभित्रै लुकेको चोरको पर्दाफास गरिएको छ भने ‘जेनिफर’ मा संयुक्त राज्य अमेरिकामा चिकित्सक र बिरामीबीच हुने सम्बन्ध–सीमाको चिरफार गरिएको छ । ‘पुरुषत्व’ ले ‘शुक्रकीट अलिअलि हुँदा वृद्धि गर्नसकिन्छ तर शून्य अवस्थामा आश गर्नसकिन्न’ भन्ने पाठ सिकाउँछ । शारीरिक सम्पर्क गर्नसक्ने क्षमता र कामुक भावना हुँदैमा महिलालाई गर्भवती पनि बनाउन सकिन्छ भन्ने भ्रम पुरुषले नपाले हुन्छ भन्ने शिक्षा पाउन यो कथा निकै उपयोगी छ ।

यस्तै, ‘विखण्डन’ले छोराछोरी विकसित मुलुकतिर पठाएर एक्लै नेपाल बस्ने बुढाबुढीको व्यथा चित्रित गरेको छ भने ‘मुख्यमन्त्रीको मगज’ले मानिसको दिमाग प्रत्यारोपण गर्ने वैज्ञानिक चमत्कारको सुन्दर परिकल्पना गरेको छ । ‘समानुभूति’ ले बिरामीप्रति चिकित्सकबाट राखिने भावनात्मक सम्बन्धको चिरफार गर्दछ ।

आम महिलामा मातृसुखको महत्व कति हुन्छ भन्ने बुझ्नका लागि ‘भिनाजुको नाइटी’ पढ्नैपर्दछ । ‘तीतो प्रेम, मीठो माया’ ले नर्स र डाक्टरहरुबीच सिर्जना हुने प्रेम–सम्बन्धको चित्रण गरेको छ । दुर्घटनामा परेर लिङ्ग चुँडिएको श्रीमान्सँग श्रीमतीको सम्बन्ध बुझ्नका लागि ‘दोषी मन’ पढ्नैपर्छ भने इमान्दार डाक्टरलाई ‘तिम्रो लापर्वाहीका कारण मेरो बिरामी म¥यो’ भन्दै गरिने आन्दोलनले पार्ने गम्भीर असर बुझ्न ‘सुसाइड नोट’ ले सघाउँछ ।

शिशुको अनुहार हेरेर श्रीमतीमाथि आशंका गर्ने श्रीमान्लाई कथाकार लक्ष्मणले ‘शङ्कालु लोग्ने’ मा छोडपत्र दिलाउनुभएको छ । स्वास्थ्य क्षेत्रका प्रमुख मुद्दा समेट्ने उद्देश्य राखेकाले हुनसक्छ, कथाकारले नक्कली प्रमाणपत्रधारी डाक्टरहरुले भोग्ने मानसिक तथा सामाजिक असरलाई पनि छोड्नुभएको छैन, ‘दोषी को ?’ भनेर चोटिलो प्रश्न उठाउनुभएको छ ।

अस्पतालहरुलाई लाइसेन्स जोगाउन न्यूनतम संख्यामा बिरामी पु¥याउनैपर्ने नियमलाई ‘उपचार’ मा समेटिएको छ भने, साइकोसिस नामको मनोवैज्ञानिक समस्यामा परेका व्यक्तिले कुनै एक विषयमा पाल्ने भ्रम र अन्य सम्पूर्ण व्यवहार स्वाभाविक हुने सम्बन्धमा बुझ्न ‘इन्गेजमेन्ट’ पढ्नुपर्छ । मरेका बिरामीलाई भेन्टिलेटरमा कृक्रिम स्वास दिलाएर पैसा कमाउने निर्दयी अस्पतालका सञ्चालकलाई चिन्न ‘भेन्टिलेटर जिन्दगी’ छुटाउनु हुन्न ।

‘बनावटी सौन्दर्य’ ले प्राकृतिक सुन्दरता नचिन्ने महिलालाई गज्जबको झापड कसेको छ भने भावनात्मक सम्बन्धको गहिराइमा डुबेकी एक महिलाको मुटु दिवंगत श्रीमान्को जीवित मुटुप्रति कसरी मोहित हुन्छ भन्ने अनुभव गर्न ‘अतृप्त मुटु’ जतिको जोडदार अभिव्यक्ति सायदै अन्त पढ्नपाइन्छ ।

स्वास्थ्य क्षेत्रका सबैजसो संवेदनशील पक्षहरु साहित्यिक रसमा चुलुम्म डुबाएर रोचक शैलीमा भोजन गराउने वरिष्ठ पत्रकार लक्ष्मणजीलाई हरेर पाठकले साधुवाद दिनैपर्छ । जसरी समाचारमा सबैभन्दा महत्वपूर्ण पक्ष सुरुमै लेखिन्छ, कथाकार बनेका पत्रकारले पनि त्यसरी नै कथा सुरु गर्नुभएको छ, जसले गर्दा पाठकरुपी माछाहरु पहिलो हरफमै बल्छीमा परिहाल्छन्, अनि त कथाको अन्तिम हरफ नपुगेसम्म कथाकारले बल्छी छोडे पो ! केही बल्छीहरु हेरौं:

  • लोग्ने सुन्दर हुनु पनि अभिशाप नै रहेछ, देख्यो कि युवतीहरुको आँखा लागिहाल्ने, सुशानाले झर्कदै फोन राखी ।
  •  पारुललाई आफ्नो बनावटी सुन्दरतामा गर्व मात्र होइन घमण्ड पनि थियो, तर आज त्यही सुन्दरता उसको मृत्युको कारण बन्यो ।
  •  इन्गेजमेन्ट भएको चार महिनापछि उसले मलाई निराश पार्दै ‘विहे गर्दिनँ’ भन्यो ।
  • ‘लामो कुरा थाहा छैन अब खुरुक्क डिभोर्स दे’ पतिका कठोर शब्दहरु उसको कानमा तातो झीरझैं बज्रिए ।
  • ‘एक हप्तासम्म यो औषधि लगाउनू, सँगै नसुत्नू’ नवविवाहित दम्पतीलाई डाक्टरले सुझाव दिए ।
  • यस्तो लोग्नेसँग कसरी जीवन काट्नु ? जवानीलाई सार्थक बनाउने अंग नै छैन ।
  • अफिसमा निकीको मुख्य काम थियो प्रेम गर्ने, ऊ प्रेमशिल्पी थिई ।
  •  डा. शर्मा राउण्डमा आएको देखेपछि नर्सहरु क्याबिन नं. २४४ मा पसे तर बेडमा बिरामी थिएन ।
  •  ब्युँझदा पत्नी ओछ्यानमा थिइन । जयन्तले बत्ती बाल्यो र घडी हे-यो रातको साढे १२ बजिसकेको छ ।
  •  डा. अर्जित न जागिर छोड्नसक्छ न त प्रेमिका नै । तर एउटा छान्नैपर्ने भो, कस्तो द्विविधा !

 अल्ट्रासाउण्ड गर्दागर्दै डाक्टरले ‘तपाईंको मृगौला एउटा मात्र छ त !’ भनेपछि गौरिकाको मन खङ्ग्रङ्ग भयो ।
कथाको पहिलो वाक्य नै यसखाले भएपछि पाठकले नपढी भयो ? यसअतिरिक्त रोचक उपमा र व्यञ्जना पनि कथाहरुमा यत्रतत्र देखिन्छ ।

‘गुलियोविनाको क्याटबरीजस्तो,’ ‘आमाले डुंगा बनाउने, बुबाले चलाउने गर्दा मात्र जीवन अर्थपूर्ण हुँदोरहेछ,’ ‘अर्जित र जेनिफरलाई नदीका दुई किनारमा भत्किएको पुल हेरेर बसेझैं भएको छ,’ ‘मेरो हात के छोयौं, मुटु नै छोएजस्तो भयो,’ ‘व्यायामका लागि हाँसेजस्तो अवस्थामा थिई ऊ’, ‘जानी–जानी मिस्टेक’, ‘तपाईंका गजलका शब्दहरु घाइते मृगका अन्तिम चित्कारजस्तै मर्मस्पर्शी छन्’ आदि अभिव्यक्तिमा विरोधाभासलगायतका अनेक अलंकार भेटिन्छन् ।

यसको अर्थ ‘मर्फिन’ मा सुधार गर्नुपर्ने पक्ष केही पनि भेटिन्नन् भन्ने होइन । यसमा समेटिएका कतिपय कथामा ‘तल लिएका शब्दलाई वाक्यमा प्रयोग गर’ को दोष देखिन्छ– पहिला स्वास्थ्यसम्बन्धी कुनै समस्या, रोग वा विकृति खोज्ने अनि त्यसलाई कथामा प्रयोग गर्ने काम भएको छ ।

उदाहरणका लागि ‘साइकोसिस’ बुझाउन ‘इन्गेजमेन्ट’ कथा बुनिएको देखिन्छ । ‘भेन्टिलेटर जिन्दगी’ को विषयमा त हिन्दुस्तानीहरुले हिन्दी, तामिल, तेलगु र बंगलामा भिन्नाभिन्नै चलचित्र बनाएका छन्, अक्षय कुमार अभिनित गब्बर इज ब्याक यही विषकै कथाले चर्चित भएको हो ।

महिलामाथि हुने यौन हिंसामा तयार पारिएको कथा ‘मी टु’ ले मार्मिक विषय उठाएको त छ तर त्यस्ता विषय पढ्दा पाठकलाई आक्रोश उत्पन्न हुनुको सट्टा रोमाञ्चकताको अनुभूति हुन्छ, श्रृंगार र हास्यरस देखापर्छ । एक किशोरीलाई छाती सीधा राख भन्दै एक्सरे गर्ने स्वास्थ्यकर्मीले काखी मुनिबाट हात छिराएर दुव्र्यवहार गरेको वर्णन गर्दै भनिएको छ– काखी मुनिबाट हात छिराएर समायो, दुई–तीन पटक मचक–मचक पा-यो ।

यसरी हिंसाको ‘ग्लोरिफिकेसन’ हुनपुगेको छ, पाठकले यौनआनन्द लिने अवस्था सिर्जना भएको छ ।अझ अगाडि नर्सिङ विषय पढ्ने प्रवेश परीक्षामा सहभागी हुनजाँदा हिंसामा परेकी किशोरीलाई सँगै जाँच दिने साथीले आफ्नो अंग बिग्रेको छैन भन्दै यसखाले व्यवहारलाई हिंसा मान्न नहुने तर्क अघिसार्छे, डर देखाउँदै भन्छे– ‘कसैले देखेका छैनन्, बिग्रेको छैन, हल्ला गर्दा फेल पारिदिन्छ ।’

‘मी टु’ महिला माथिको यौनहिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान हो । कथामा यो कुरा भनिएको पनि छ । तर कथाकारले उपयुक्त शीर्षक चयन गरेर पनि कथाको शीर्षक ‘जस्टिफाई’ गर्नुभएको छैन । कुनै पात्रको मुखबाट ‘मी टु’ शीर्षक प्रमाणित गर्नसकिने थियो, त्यसो गरिएको छैन । संयुक्त राष्ट्रसंघले समेत स्वामित्व स्वीकार गरेको यस अभियानका कारण दमित पीडितहरु सशक्त रुपमा प्रकटमा आएका छन्, पीडकलाई सजाय पनि दिलाएका छन् ।

कतिपय ठाउँमा यो अभियान अनावश्यक बदला र धम्कीको उपकरण पनि बनेको छ । त्यस पक्षमा ‘मी टु’ कथा मौन छ । तैपनि यस अभियानका बारेमा पहिला नै जानकारी हासिल गरेका पाठकले त केही हदसम्म शीर्षक पचाउने छन्, सन्दर्भ बुझ्नेछन् तर अनभिज्ञका लागि अलमलै अलमल छ ।

कथासंग्रहमा अन्त पनि कतिपय ठाउँमा प्राविधिक र संक्षिप्त शब्दको प्रयोगका कारण कथा भनेर प्रेसक्रिप्सन त पढिरहेको छैनजस्तो लाग्छ ।‘मी टु’ लगायत सबैजसो कथामा कथाकारले कथाको समापन भने प्रारम्भजस्तै सबल बनाउनुभएको छ । पत्रकारितामा राम्रो समाचार फिचरको समापनमा ‘किकर’ हुनुपर्छ भनिन्छ, ‘मर्फिन’ का कथामा पर्याप्त ‘किकर’ भेटिन्छ । ‘मी टु’ कै कुरा गरौं :

‘ममी, किन त्यो फ्रड डाक्टरको केस एक्सपोज नगर्ने ?’ मेघाको हृदय भक्कानियो, एक्कासी छोरीलाई अँगालो मारिन् र मनमनै भनिन्, ‘किनभने त्यो पापी डाक्टरको रेपपछि म गर्भवती भएँ, उसैबाट तिमी जन्मिएकी हौ ।’ मेघा कथाकी त्यही पात्र हो जसले किशोर अवस्थामै एक्सरे गर्दा स्वास्थ्यकर्मीबाट यौनहिंसामा पर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्