वेश्याको विज्ञप्ती …



  • आर्यश शर्मा घिमिरे

सपनाहरुलाई चितामा जलाएर
रहरहरुको मलामी गएको दिनपछि
म साँच्चै आफ्नो नियन्त्रणमा छैन
तिमी भगवान बेच्छौँ ,भगवानको मन्दिर बेच्छौँ
म शरीर बेच्छु , नाङ्गो तस्वीर बेच्छु
लेख्नै बिर्सिएको आफ्नै तकदिर बेच्छु !
मेरो जात छैन
धर्म छैन

कुनै एक बिशेष पुरुष छैन
दिन र रातको फरक अर्थ छैन
बस् ! फिक्स एउटा् मूल्य छ ।
उत्तेजनालाई मत्थर बनाउन
वासनाको स्खलन गर्न
मलाई नाङ्गो बनाउन
आतुर मन र
लालायित तिम्रा हातहरुलाई
आकर्षक चाहिएन
कामुकता चाहिएन
केवल ! सम्भोग चाहियो
सन्तुष्टि चाहियो !!

एड्सले ग्रसित तिम्रो राजधानीमा
यत्रतत्र छरिएका , कुहिएका
फोहोरका डिब्बाहरुमा
गनाइरहेका यथार्थहरु
दर्शन -बिज्ञान
विचार- विकार !
राजनीति-कन्डम
स्वतन्त्रता -नियम !?
निर्लज्जीत चेतनाहरु !!
सामुहिक बलात्कार
सामुहिक भ्रष्टाचार
के यहि हो ?
मानव सामुहिकताको सार ?
माफ गर –
तिम्रो राजनीति भन्दा
मेरो बेश्यालय नियमअनुसार चल्छ !!
ए माल !
ए रण्डी !
ए वेश्या !

दिने गर्छौ
घृणाका अनेक उपनामहरु
तर के तिमिलाई थाहा छ ?
संसारकै सबैभन्दा क्षयग्रस्त
वेश्यालयमा जन्मिएको बच्चाले पनि
आमाकै कोख भर्छ
आमाकै स्तन चुस्छ !

कविहरुले लेखे जीवन संघर्ष हो
दार्शनिकहरुले लेखे जीवन रहस्य हो
भन्नेहरुले भने जीवन घामछाँया हो
ए कोहि त बुझाइदेउ मलाई
जीवन दुई थोपा आँसु हो कि
दुईथोपा वीर्य ??

 

प्रतिक्रिया दिनुहोस्