भारतको कर्नाटकमा ऋणबाट उम्किन आफ्नै मृत्युको नाटक गरेका ३६ वर्षीय एक व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन्। कोलार जिल्लाका अरुण कुमार रेड्डीले सन् २०१५ मा आफ्नो मृत्यु भएको देखाउन अज्ञात व्यक्तिको शव प्रयोग गरेको प्रहरीले जनाएको छ।
सन् २०१५ फेब्रुअरी ९ मा कोलार गोल्ड फिल्डको एन्डरसनपेट क्षेत्रमा प्रहरीले नराम्ररी जलेको शव फेला पारेको थियो। शवसँग आधार कार्ड, मोबाइल फोन, सिमकार्ड, चप्पललगायत अरुणका सामान भेटिएपछि प्रहरीले शव अरुणकै भएको ठानेको थियो। उनका परिवारले समेत उनको अन्तिम संस्कार गरिसकेका थिए।
तर अनुसन्धानका क्रममा प्रहरीका साथीहरूसँग सोधपुछ गर्दा अरुण जीवितै रहेको जानकारी पाए। डीएनए परीक्षण गर्दा जलेको शव अरुणको नभएको पुष्टि भयो।
प्रहरीका अनुसार अरुणले साथीहरूबाट ठूलो रकम ऋण लिएका थिए तर ऋण तिर्न नसकेपछि आफ्नै मृत्युको नाटक गर्ने योजना बनाएका थिए। आफ्नो नाममा रहेको बीमा रकमसमेत दाबी गर्ने उनको योजना रहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा अरुणले कब्रिस्तानबाट पहिचान नखुलेको शव निकालेर बोरामा राखी मोटरसाइकलमा जंगल क्षेत्रमा लगेको र पेट्रोल छर्केर जलाएको प्रहरीको दाबी छ। त्यसपछि उनले शव वरिपरि आफ्ना मोटरसाइकल, चप्पल, कागजात, मोबाइल फोन र सिमकार्ड राखेका थिए।
प्रहरीका अनुसार अरुणले अपराधसम्बन्धी चलचित्रबाट यस्तो योजना बनाउने प्रेरणा लिएका थिए। विशेषगरी ‘दृश्यम’ चलचित्रमा देखाइएका घटनाबाट आफू प्रभावित भएको उनले बताएका थिए।
त्यसपछि अरुण पक्राउ परेका थिए तर धरौटीमा छुटेपछि फेरि फरार भए। अदालतले उनलाई पक्राउ गर्न पटक–पटक गैरजमानती पक्राउ पुर्जी जारी गरे पनि उनी ११ वर्षसम्म फेला परेनन्।
हालै प्रहरीले पुराना बाँकी मुद्दाको पुनः समीक्षा गर्ने क्रममा अरुणको खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा उनको आधार कार्ड प्रयोग गरेर चेन्नईमा सिमकार्ड खरिद गरिएको पत्ता लागेपछि प्रहरीले उनको गतिविधि निगरानी गर्न थाल्यो। अन्ततः चेन्नईमा उनी परिवारसहित बसिरहेको पत्ता लगाएर पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अरुणले चेन्नईमा विवाह गरी सन्तानसमेत हुर्काइरहेका थिए। उनी डेलिभरी एजेन्टका रूपमा काम गर्नुका साथै विभिन्न साना काम गर्दै परिवार पालिरहेका थिए। उनकी श्रीमतीलाई उनको विगतबारे जानकारी नभएको प्रहरीले जनाएको छ।
पक्राउपछि अरुणलाई न्यायिक हिरासतमा पठाइएको छ। प्रहरीले उनले प्रयोग गरेको शव प्राकृतिक कारणले मृत्यु भएको व्यक्तिको रहेको र घटनालाई हत्या नभई आफ्नै मृत्युको झूटो प्रमाण सिर्जना गरेको घटनाका रूपमा अनुसन्धान गरेको जनाएको छ।
स्रोत: द इन्डियन एक्सप्रेस











प्रतिक्रिया