विवाह समारोहमा अमेरिकी आक्रमणको आरोप, इरानमा पाँच जनाको मृत्यु


काठमाडौं ।

इरानको दक्षिणी क्षेत्रमा विवाह समारोह भइरहेको घरमा अमेरिकी आक्रमण भएको इरानी अधिकारीहरूले आरोप लगाएका छन् । आक्रमणमा पाँच जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ ।

घटना इरानको होर्मोजगान प्रान्तस्थित सिरिक काउन्टीको कुहस्तक क्षेत्रमा भएको हो । मंगलबार राति भएको अमेरिकी हवाई आक्रमणका क्रममा विवाह समारोह भइरहेको आवासीय घरमा क्षेप्यास्त्र वा त्यसको छर्रा लाग्दा मानिसहरू हताहत भएको इरानी अधिकारीहरूले बताएका छन् ।

इरानी अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मृतकमध्ये एक बालकसमेत रहेको बताइएको छ भने ५० भन्दा बढी मानिस घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।

घटनापछि सार्वजनिक भएका विवरणअनुसार विवाह समारोह चलिरहेका बेला विस्फोट भएपछि घरमा ठूलो क्षति पुगेको थियो । उद्धार टोलीले घटनास्थलबाट घाइतेहरूलाई अस्पताल पुर्‍याएको बताइएको छ ।

तर अमेरिकी सेन्ट्रल कमान्डले भने नागरिकलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । अमेरिकी पक्षले आफ्नो कारबाही इरानी सैन्य संरचना तथा सैन्य क्षमतासँग सम्बन्धित लक्ष्यमा केन्द्रित रहेको बताएको छ ।

विवाह समारोहमा भएको घटनाको विवरण स्वतन्त्र रूपमा पूर्ण पुष्टि हुन बाँकी रहे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानी अधिकारी र उद्धार निकायलाई उद्धृत गर्दै घटना सार्वजनिक गरेका छन् ।

यसैबीच अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किएको छ । अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वका विभिन्न स्थानमा रहेका अमेरिकी सैन्य अखडालाई क्षेप्यास्त्र र ड्रोनबाट लक्षित गरेको जनाएको छ । पछिल्लो घटनाक्रमले यस क्षेत्रमा फेरि व्यापक युद्धको जोखिम बढाएको छ ।