ल्यान्डफिलमा भेटियो दुई महिनादेखि हराइरहेका १५ वर्षीय किशोरको शव


अमेरिकाको लुइजियाना राज्यमा दुई महिनादेखि हराइरहेका १५ वर्षीय किशोरको शव ठूलो फोहोर व्यवस्थापन केन्द्रबाट बरामद भएको छ। जुन ५ देखि हराइरहेका किशोरको शव अगस्ट १८ मा फेला परेको थियो। डीएनए परीक्षणपछि शव उनकै भएको पुष्टि गरिएको हो।

प्रहरीका अनुसार किशोरको हत्या भएको आशंकामा ५१ वर्षीय एक व्यक्तिलाई यसअघि नै पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा किशोरको शव फोहोरको कन्टेनरमा राखेर फोहोर व्यवस्थापन केन्द्रमा पुर्‍याइएको हुनसक्ने खुलेपछि प्रहरीले त्यहाँ व्यापक खोजी अभियान सञ्चालन गरेको थियो।

खोजीका क्रममा अनुसन्धान टोलीले हजारौँ टन फोहोर खोतलेर मानव अवशेषको खोजी गरेको थियो। अत्यधिक गर्मीका बाबजुद प्रहरी, संघीय अनुसन्धान अधिकारी र अन्य निकायका टोलीले हप्तौँसम्म खोजी जारी राखेका थिए।

अगस्ट १८ मा मानव अवशेष फेला परेपछि डीएनए परीक्षण गरिएको थियो। परीक्षणबाट ती अवशेष हराइरहेका किशोरकै भएको पुष्टि भयो।

घटनामा पक्राउ परेका व्यक्तिमाथि पहिलो तहको हत्या आरोप लगाइएको छ। उनीमाथि नाबालिगसँग सम्बन्धित अन्य गम्भीर अपराधका आरोपसमेत लगाइएको बताइएको छ। हाल उनलाई धरौटीमा रिहा नगरिने गरी हिरासतमा राखिएको छ।

किशोरकी आमाले छोराको मृत्युबाट आफू अत्यन्तै दुःखी भएको बताएकी छन्। परिवारले उनको अन्त्येष्टिका लागि सहयोग जुटाउने अभियानसमेत सुरु गरेको छ।

स्रोत: पिपुल म्यागजिन