जिप दुर्घटना हुँदा गर्भवती महिलासहित १८ जना घाइते, ९ जना गम्भीर



ताप्लेजुङ ।

ताप्लेजुङमा दसैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् ।

सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप बिहीबार दिउँसो ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राकेश यादवका अनुसार घाइते हुनेमा बालबालिकासमेत छन् ।

सबै घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र अधिकांस गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।यता क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेक फेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्