कृषिमा आधुनिकीकरण : भिरालो बारीमा पनि ट्याक्टर कुदाउँदै पाल्पाली कृषक



कविराज नेपाल, पाल्पा ।

कृषिमा आधुनिकीकरणसँगै गोरु राँगाका विकल्पमा ट्याक्टर आएको छ । त्यसलाई तराईका जिल्लामा सफलतापूर्वक मानिसहरूले प्रयोग गरिरहेको पाइन्छ । तर, पहाडी जिल्ला पाल्पामा पनि केही वर्षयता भिराला वारीमा ट्याक्टर कुद्न थालेका छन् । व्यस्तताको जीवन बढ्दै जाँदा मानिसहरूले गोरु पाल्न छाडेपछि पश्चिम पाल्पाका कृषकहरूले यसको विकल्पका रूपमा पहाडमा पनि ट्याक्टरबाट जोताइ शुरू गरेका हुन् ।

यद्यपि, पहाडी भूभाग भएकाले. सबै ठाउँमा यसको सहज पहुँच त छैन तर पनि अप्ठ्यारोलाई छिचोलेर भए पनि उनीहरूले यसलाई प्रयोगका रूपमा अगाडि बढाएका छन् । पछिल्लो समयमा पाल्पा जिल्लामा नयाँ प्रविधिको प्रयोग गरी खेती गर्ने परम्परा बढेसँगै कृषकलाई फाइदै फाइदा हुन लागेको छ ।

माथागढी गाउँपालिका कसेनीका कर्णबहादुर चिदीले खेतबारी जोत्नका लागि गोरुको प्रयोग नगरेको सात वर्ष भयो । चिदीले मात्र होइन जोत्नको प्रयोगका लागि गाउँ बस्तीका अधिकांश कृषकहरूले गोरु पाल्न छाड्दै गएका छन् । त्यहीँका बलबहादुर कुमालले खेतबारी जोत्न गोरुको विकल्पमा ट्याक्टरको प्रयोग गरेको २५ वर्ष भयो ।

बढ्दो आधुनिकतासँगै कृषिको प्रविधिमा समेत आधुनिकरण भएका कारणले कृषकहरू परम्परागत प्रणालीको तुलनामा आधुनिक प्रविधि सजिलो, सस्तो र विनाझन्झट कृषि यन्त्रको प्रयोग गर्न लागेको कृषकहरू बताउँछन् । कृषकहरूले गोरुको माध्यमबाट खेत जोत्न प्रयोग हुने हलोको विकल्पमा ट्याक्टरको प्रयोगलाई बढाएका छन् ।

केही वर्षयतादेखि जिल्लाको पश्चिम भेगमा पर्ने खस्यौली, भैरवस्थान, कुसुमखोला, भैरवस्थान, देउराली लगायतका स्थानमा यसरी ट्याक्टरबाट जोत्न शुुरू गरिएको हो ।

खस्योैली गाविसको माथिल्लो र तल्लो खस्यौली, डुम्रिका, माल्मुल, सहुरपानी, देउरालीको भुटुका, लघुवा कुसुमखोलाको दर्लाम भैरवस्थानको रानीठाँटी लगायतका स्थानमा यसरी ट्याक्टरले जोताइ शुरू गरिएको छ । त्यस्तेै, जिल्लाका विभिन्न गाउँपालिकाहरूमा साना–ठूला ट्याक्टरको प्रयोग बढेको छ ।

प्रतिक्रिया दिनुहोस्