फेरि फर्कियो इकु



दर्शकले अत्यधिक मनपराएको पात्र इकु फेरि फर्किएको छ। हास्यकलाकार सुलेमान शंकरले सिरियल इकुपिताङमार्फत आफूले लोकप्रियता कमाएको इकु पात्रलाई पुनः दर्शकमाझ ल्याएका हुन्।

इकुपिताङ दसैँको अवसर पारेर शनिबारदेखि प्रसारण शुरू गरिएको निर्माता निर्देशक सुलेमान शंकरले बताए। सुलेमानले आफ्नै युट्युब च्यानल इकु–इकुबाट यसको प्रसारण शुरू गरेका हुन्। दर्शकले आफ्नो हातमा रहेको मोबाइलबाट पनि हेर्न पाऊन् भनेर सीधै युट्युबबाट ल्याइएको सुलेमानले बताए।

बालकदेखि वृद्धसम्मले मन पराएको पात्र इकु समेटिएको सिरियलको नयाँ भाग अबदेखि दर्शकले प्रत्येक शनिबार सोही च्यानलमा हेर्न पाउनेछन्। सिरियलमा इकुको भूमिका सुलेमान नै छन्। उनले यही भूमिकाबाट लोकप्रियता कमाएका हुन्। उनले विभिन्न हास्य टेलिफिल्ममा इकुको भूमिका निर्वाह गर्दै आएका छन्।

सुलेमानको अलावा सिरियलमा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनीष खड्का, माया थामी, सिमरन भट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुशल लोहनी, दीपक थापा मगर, सुमन मगरलगायतले अभिनय गरेका छन्।

योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत सिरियलमा छ। यसअघि, निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले हास्यटेलिश्रृंखला हल्का रमाइलोको केही भागमा इकुलाई प्रस्तुत गरेका थिए भने पहिलोपटक इकु हास्य सिरियल मेरी बास्सैमा देखिएको थियो। ‘दर्शकले रुचाएको इकुको भूमिकामा फेरि देखिन पाउँदा निकै खुसी लागेको छ। फेरि एकपटक इकु बनेर दर्शकलाई भरपुर मनोरञ्जन दिनेछु’ सुलेमानले भने– ‘दर्शकले सधै” इकु कहिले हेर्न पाइन्छ भन्नुहुन्थ्यो। उहाँहरूकै चाहनाअनुसार इकुपिताङ निर्माण गरेको हुँ।’ सिरियलमा राजु पौडेल र मदन महर्जनको छायांकन तथा रविन बजगाईंको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्