ट्रेलर सार्वजनिक कार्यक्रममा हमालको तस्वीर प्रमुख अतिथि



निर्माता निर्देशक शोभित बस्नेतले ख्यातिप्राप्त अभिनेता राजेश हमालको तस्वीरलाई प्रमुख अतिथि बनाउँदै आफूद्वारा निर्देशित ३१औं फिल्म डाँडाको वरपीपलको ट्रेलर सार्वजनिक गरेका छन्‌।

बस्नेतले केही दिनअघि मात्र सोही फिल्मको गीत रिलिजका क्रममा अर्का अभिनेता भुवन केसीलाई महानायक भनेका कारण विवाद बढ्दै गएपछि हमालको तस्वीरलाई प्रमुख अतिथि बनाएर फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्‌। ट्रेलर रिलिजका क्रममा शोभितले राजेश हमाल नै महानायक भएको र आफू गलत रहेको बताए। ‘म जहिले पनि महानायकभन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ। त्यसैले‚ फिल्म क्षेत्रमा राजेश हमालभन्दा ठूलो कोही पनि छैन भनेर उहाँलाई सुपरस्टार भनेको थिएँ। तर‚ म गलत रहेछु। यसैले‚ सबैसँग माफी माग्दै आजबाट हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्नेछु। मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ’ विजयादशमीको अवसर पारेर आगामी २६ गते रिलिज हुने फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले भने।

सार्वजनिक ट्रलरमा जातका कारण एक प्रेमजोडीले भोग्नुपरेको अनेक दु:खलाई समेटिएको छ। ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरू शिव श्रेष्ठ‚ भुवन केसी‚ गौरी मल्ल‚ सलोन बस्नेत‚ रुबिना थापालगायत फिचर्ड छन्‌। काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा छायांकन गरिएको फिल्म विजयादशमीको अवसर पारेर २६ गते रिलिज भए पनि ओटीटी प्लेटफर्ममा भने तिहारमा रिलिज गरिने निर्माता नवराज गिरीले जानकारी गराएका छन्‌।

फिल्ममा विनोद न्यौपाने‚ राजीवजंग बस्नेत‚ अस्मिता जुरेली‚ हिउँवाला गौतम‚ उत्तम केसी‚ संगम भण्डारी‚ सुशान्तकुमार श्रेष्ठ‚ प्रभात पल‚ अश्मी थापा‚ प्रदीप गिरी‚ ज्ञानकुमार कट्टेल‚ टेकेन्द्र न्यौपानेलगायतका कलाकारले पनि अभिनय गरेका छन्‌।

बुढासुब्बा ओर्जिनल ब्यानरका प्रमुख नवराज गिरीद्वारा निर्मित फिल्ममा रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा नवराज गिरीको गीत‚ शिव मुखिया र एलिश कार्कीको संगीत‚ गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी‚ रोशन श्रेष्ठको द्वन्द्व‚ सुशान्त प्रजापतिको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्