नाबालिग भाइबहिनीको यौन शोषण गर्ने वृद्धलाई १२ वर्ष कैद



सिंगापुर सिटी,(एजेन्सी) ।

साढे दुई वर्षभन्दा लामो समयसम्म नाबालक भाइ र बहिनीलाई चुरोट र पैसा दिएर यौन शोषण गर्ने गरेका एकजना वृद्धलाई सिंगापुरको एक अदालतले १२ वर्ष लामो कडा कारावास सजाय सुनाएको छ ।

नाम गोप्य राखिएका ती ६४ वर्षीय वृद्धलाई १४ वर्षभन्दा मुनिका बालिकालाई यौन उत्पीडन कार्य गरेको चारवटा अभियोगमा दोषी करार गरिएको हो । उनीविरुद्ध यस्तै खालका अन्य ११ वटा अभियोग पनि दायर गरिएको थियो ।

डिसवासरको काम गर्ने ती वृद्ध अहिले १८ र १७ वर्ष पुगेका ती पीडित भाइबहिनी बस्ने ब्लकमै बस्ने गरेका थिए । तिनीहरूमाथि १३ वर्षको उमेरमा उनले यौन शोषण गर्ने गरेका थिए ।

७ देखि २० वर्षसम्मको हुने उनलाई दिइएको कारावास विशेष खालको छ । कारागारमा असल व्यवहार र कार्य गरेको आधारमा पनि उनको एक दिनको कैद भुक्तान पनि मिनाहा हुने छैन ।ती वृद्ध पीडितहरूको घरमा गएर तिनीहरूका पितासँग बसेर रक्सी खाने गर्थे ।

उनले पटक–पटक भाइ र बहिनीलाई आफ्नो कोठामा लगेर अश्लिल फिल्म देखाएर अनैतिक काम गरेका थिए ।उनले घटनालाई गुपचुप राख्न सल्लाह दिँदै तिनीहरूलाई चुरोट र अलिअलि पैसा पनि दिने गरेका थिए ।

ती बालिकाले सन् २०१९ मा आफ्नै पिताले आफूमाथि बलात्कार गरेको प्रहरीमा जाहेरी दिएपछि गरिएको अनुसन्धानको क्रममा यस वृद्धको करतुतसमेत पर्दाफास भएको हो ।

यी वृद्ध सन् १९७२ देखि चोरी, डकैती र लागु औषध तथा हातहतियार साथमा राख्ने गरेको जस्तै अपराधमा पनि संलग्न रहँदै आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्