डोटीमा प्रदेश भलिबलका लागि खेलाडी छनोट



विमल विष्ट, डोटी ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ । जिल्लाभरिका नौवटै स्थानीय तहबाट आएका खेलाडीलाई जिल्लामा भलिबल प्रतियोगिता गराई खेलाडी छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष नरेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका नौवटै स्थानीय तहबाट आएका खेलाडीहरूको प्रतिस्पर्धा गराई उत्कृष्ट भएका नौ जना खेलाडीलाई छनोट गरी नौ जनाको टिम बनाइएको र अन्य तीन जना वैकल्पिक खेलाडी राखिएको छ ।

जिल्ला खेलकुद विकास समितिका अनुसार छनोट भएका खेलाडीहरूमा जनक खड्का, डम्बर भट्टराई, प्रशान्त साहु, निलम सिंह, खगेन्द्र खड्का, भूपेन्द्र खड्का, प्रदीप खड्का, रतन थापा र रमेश बम रहनुभएको छ । यस्तै, वैकल्पिक खेलाडीहरूमा राजेन्द्र कठायत, रमेश साउँद तथा पुरन रावत छनोट भएका छन् । उक्त पुरुष भलिबल प्रतियोगिता कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ सम्म सञ्चालन हुने भएको छ । छनोट भएका खेलाडीलाई प्रशिक्षण दिइन लागिएको छ । भलिबल प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने १२ जना खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्