टिजरमा रुदाने



विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रूपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने ः विद्रोह’को नेपाली नामको टिजर सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै यसको निर्माण समूहले २०२२ को मध्यसम्ममा फिल्म रिलिज गर्ने जनाएको छ। फिल्म रूपचन्द्र विष्टको जीवन र थाहा दर्शनका विविध पाटा समेटेर निर्माण गरिएको जनाइएको छ। अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त अनुसन्धान,लेखन तथा निर्देशनमा बनेको ‘रुदाने’ दावनल क्रियसनको ब्यानरमा जागृत रायमाझीको प्रमुख कार्यकारी निर्माण तथा भानुभक्त थापाको सह–निर्माण, पदम केशर कटुवाल र सहदेवप्रसाद सापकोटाको सहायक निर्माण रहेको छ।

फिल्ममा मुख्य चरित्र रूपचन्द्र विष्टको भूमिकामा दिव्य देवले अभिनय गरेका छन् भने नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल, आलोक थामी, नमिता तामाङ, परीक्षित विक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल, आईपी आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्। ‘रुदाने’ रूपचन्द्रले आफैंले आफैंलाई दिएको नाम हो, जसको पूर्णरूप हुन्छ रू–रूप, दा–दामन, ने–नेपाल। २०४० को दशकमा नेपालमा लोकप्रियताको शिखरमा रहेका रूपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ। फिल्म जीवनको अन्तिमसम्मै जनताकै भएर बाँचेका विष्टप्रति समर्पण गरिएको यसका निर्देशकद्वयले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्