सरोजले संगीतमा ल्याए धानको भकारी



संञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा भकारीमा धान बोलको गीत सार्वजनिक भएको छ।गीतमा गायक कोइरालाकै शब्द र संगीत छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन्। म्युजिक भिडियोसहित सार्वजनिक भएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र सगुन कोइरालाले नृत्य तथा अभिनय गरेका छन्।

छायाँकार उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडियो विकाश दाहालले सम्पादन गरेका छन्। निर्देशन विधान कार्कीले गरेका हुन्।
पूर्व र मध्यक्षेत्रतिरका लोकभाकामा आधारित रहेको गीत भकारीमा धानको छायांकन काभ्रेपलाञ्चोक जिल्लाको रमणीय र मौलिक रहनसहन भएको क्षेत्रमा गरिएको छ।मेलोडियस आधुनिक गीतमा स्वर तथा संगीत दिँदै आएका सरोजले यसै गीतमार्फत आफ्नो शैली परिवर्तन गरेका छन्।

‘हरेक नेपालीको मनमा लोकधुन हुन्छ नै, मभित्र रहेको त्यही धुन यस गीतमार्फत प्रस्फुटित भएको हो’ सरोज भन्छन्। सरोजले साधना कला केन्द्रमा वरिष्ठ संगीतकार प्रकाश गुरुङसँग तीन वर्ष गायन प्रशिक्षण लिएका छन्। उनले हालै त्रिभुवन विश्वविद्यालयबाट समेत संगीत विषयमा स्नातक तहको अध्ययन पूरा गरेका छन्। नेप्सिनेको प्रोडक्सनमा तयार म्युजिक भिडियो द डिभाइन म्युजिक यु्ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्