नेपाल भाषामा निर्मित घोषकको प्रिमियर



ऐतिहासिक बुद्धकालीन नेपाल भाषाको फिल्म घोषकको हालै राजधानीमा प्रिमियर शो गरिएको छ।

बालाजुस्थित अष्टनारायण हलमा भएको प्रिमियर कार्यक्रममा सो फिल्मका कलाकार तथा प्राविधिकलाई सम्मान गरिएको थियो। फिल्मको प्रमुख पात्रका रूपमा किशोर चिपालु र अञ्जली शाक्यले अभिनय गरेका छन्। चिपालुले घोषकको केन्द्रीय भूमिकामा अभिनय गरेका छन्। त्यसैगरी, नायक धीरेन शाक्यले पनि यसमा अभिनय गरेका छन्। यसका अलावा पल्पसा डंगोल, राजेन्द्रमान शाक्यलगायतले अभिनय गरेका छन्। चिराग फिल्म्सको ब्यानरमा रोशन बज्राचार्य र प्रेमा शाक्यद्वारा निर्मित फिल्म अमृतचन्द्र श्रेष्ठले निर्देशन गरेका छन्। पटकथा दर्शनवीर शाक्यले तयार पारेका छन् भने कथा स्व. धर्मरत्न शाक्यको हो।

घोषक एक बुद्धकालीन ऐतिहासिक घटनालाई समेटेर निर्माण गरिएको पटकथाकार दर्शनवीर शाक्यले नेपाल समाचारपत्रलाई बताए। बुद्धका लागि घोषकले कौसम्बी नगरमा घोषिताराम बिहार बनाइदिएका थिए। बुद्ध धर्म प्रचार गर्न विहार बनाइदिएका घोषक सेठसमेत थिए। उनलाई धर्म प्रचार गर्दा आएको समस्याका साथै रोमाञ्चक घटनाले फिल्म हेर्नलायक बनाइदिएको पनि शाक्यले बताए। उनले स्थानीय सरकारबाट नेपाल भाषाको फिल्म हलमा सार्वजनिक रूपमा प्रदर्शन गर्ने प्रबन्ध मिलाइदिन प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई आग्रह गरे।

कार्यक्रम काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको विशेष आतिथ्यता तथा वडा नम्बर १८ अध्यक्ष न्हुच्छेकाजी महर्जनको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्