ओमानसँग सहजै हार्‍यो नेपाल



काठमाडौं, (नेस) ।

साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई ओमानले मैत्रीपूर्ण खेलमा सहजै हराएको छ ।

आइतबार राति कतार युनिभर्सिटी ग्राउन्डमा भएको उक्त मैत्रीपूर्ण खेलमा ओमानले नेपाललाई ७–२ को फराकिलो गोलअन्तरले हराएको हो । पहिलो हाफमा २–१ ले पछि परेको नेपालले दोस्रो हाफमा भने लगातार ५ गोल बेहोरेको थियो । दोस्रो हाफमा ओमानले बलियो टोली उतारेपछि नेपाली टोली निकै दबाबमा परेको थियो ।

खेलमा फेमी सैदको गोलबाट ओमानले नवाैँ मिनेटमा नै गोलको खाता खोलेको थियो । त्यस्तै, ३०औं मिनेटमा ओमानका मोहसेन जाबरले बललाई जाली चुमाउँदै अग्रता दोब्बर पारे । तर, त्यसको १० मिनेटपछि भने नेपालका लागि अनन्त तामाङले गोल गर्दै पहिलो हाफसम्म खेललाई २–१ को स्थितिमा टुंग्याए ।

दोस्रो हाफमा भने ओमानले नेपाली रक्षापंक्तिलाई व्यस्त राख्दै पाँच गोल थपे । दोस्रो हाफ शुरू भएको चार मिनेटमा नै ओमानले थप दुई गोल गर्‍याे । खेलको ४६औं मिनेटमा मोहसेन गावारले गोल गर्दै ओमानको अग्रता ३–१ पुर्‍याएका थिए भने त्यसको तीन मिनेटपछि नै मोहसेन अल घासानीले ओमानका लागि चौथो गोल गरे ।

खेलको ६०औं मिनेटमा अब्दुल्लाजिज अल मुकावलले बललाई जाली चुमाउँदै ओमानलाई फराकिलो जिततर्फ दोहोर्‍याएका थिए । त्यसको पाँच मिनेटपछि अल मुकावलले गरेको व्यक्तिगत दोस्रो गोलमा ओमानको अग्रता ६–१ मा पुगेको थियो । ७६औं मिनेटमा जामिल अल यहमादीले ओमानका लागि सातौं गोल गरे । यता, ८५औं मिनेटमा आयुष घलानले गोल गर्दै नेपालको गोल अन्तर घटाएका थियो ।

योसमेत अहिलेसम्म नेपालले ओमानसँग कुल ११ म्याच खेलेको छ । जसमा ओमानले शतप्रतिशत जितको नतिजा निकाल्दै नेपालविरुद्ध कुल ४९ गोल गरेको छ भने नेपालले मात्र तीन गोल फर्काएको छ । नेपाली टोली अब सोमबार माल्दिभ्स प्रस्थान गर्नेछ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म मालेमा हुँदैछ । नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालले आइतबार मात्र साफ च्याम्पियनसिपका लागि अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको थियो । पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षण क्याम्पका दौरान चोट बोकेपछि विकेश अन्तिम टोलीमा पर्न सकेनन् । प्रशिक्षक अलमुताइरीले यसअघि साफमा २५ जना खेलाडीलाई नै माल्दिभ्स लग्ने बताए पनि एन्फाले भने २३ सदस्यीय टोली घोषणा गरेको हो । साफले अन्तिम टोलीमा २३ सदस्य रहने भए पनि विकल्पमा आफ्नै खर्चमा भने खेलाडी लग्न पाउने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्