पारस शाहको क्यारिकेचरले नै कमेडी च्याम्पियन जितेको होइन : भरतमणि पौडेल



ताप्लेजुङका भरतमणि पौडेलले टेलिभिजन कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ का प्रत्येक भागमा फरक–फरक कन्टेन्ट पस्किएर कमेडीको फरक स्वाद दिँदै निर्णायकका साथ दर्शकको समेत मन जितेर सो उपाधि चुम्न सफल भए।

कमेडी च्याम्पियनको स्टेजमा प्रस्तुति दिने क्रममा गरेको पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचरले दर्शकमाझ उनको परिचय थप फराकिलो बनाइदियो भने पूर्वयुवराज पारस शाहको हुबहु हाउभाउ र नक्कल उतारेपछि उनको लोकप्रियताको उचाइ रातारात चुलिन पुग्यो। कमेडी च्याम्पियनको विजेता भएसँगै कमेडी विधाका नयाँ मणि भरतमणिले कार र २५ लाख रुपियाँ जितेका छन्। उनैसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

कमेडी च्याम्पियनको विजेता बन्दा कस्तो अनुभव भएको छ?

विश्वका सबै विजेतालाई आफू विजयी बन्दा खुसी नै लाग्छ, खुसी लाग्नु स्वाभाविक हो। मलाई पनि निकै खुसी लाग्यो। रमाइलो महसुस भएको छ।

कमेडी च्याम्पियन जित्छु भन्ने सोच्नुभएको थियो?

विजेता बनिएला कि भन्ने सोचले नै कमेडी च्याम्पियनमा भाग लिएको हुँ। तर, मैले नै जित्नु पर्छ, मैले नजिती हुँदैन भन्नेचाहिँ थिएन।

विजेताको रूपमा आफ्नै नाम आउला भनेर ढुक्क हुनुहुन्थ्यो?

म नै विनर बन्छु भन्ने त थिएन, तर फस्ट र सेकेन्डमा एउटा हुन्छु भन्ने लागेको थियो। दर्शकको भोट पनि धेरै आइरहेको हुनाले कमेडी च्याम्पियन आफैँले जित्ने आशा पनि थियो। मैले गरेको मेहनतलाई दर्शकले रुचाइदिनुभयो र म विजेता भएँ, यसमा खुसी छु। तर, विजेता नभएको भए पनि चित्तदुखाइचाहिँ हुने थिएन।

सेमिफाइनलमा पूर्वयुवराज पारस शाहकै क्यारिकेचर सर्वाधिक रुचाइयो, त्यही प्रस्तुतिले कमेडी च्याम्पियनको टाइटल जितायो होइन?

होइन, पूर्वयुवराज पारस शाहकै क्यारिकेचर प्रस्तुतिले मात्र कमेडी च्याम्पियनको टाइटल जिताएको भन्ने मलाई लाग्दैन। मैले सबै प्रस्तुतिमा उस्तै मेहनत गरेको छु। त्योभन्दा अघि पनि धेरै प्रस्तुतिहरूलाई दर्शक तथा निर्णायकले मन पराउनुभएको थियो। मैले प्रत्येक प्रस्तुतिमा फरक–फरक कन्टेन्ट दिएको थिएँ। त्यसै कारणले धेरैपटक पर्फमर अफ द राउन्ड पाएको छु।

मेरो काम भनेको दर्शकलाई आफ्नो खुबी देखाउने हो। मैले आफ्नो काम देखाएँ, त्यसलाई माया गर्ने गाली गर्ने गसिप बनाउने, कमी कमजोरी केलाउने भन्ने कुरा दर्शकको हो। त्यहीअनुरूप दर्शकले बढि रुचाउनुभएको हो। तर, पारस शाहकै क्यारिकेचरले मात्र विजेता बनेको भन्ने लाग्दैन। त्यो सँगसँगै अन्य प्रस्तुति, दर्शकको माया अनि उहाँहरूको भोटले जितेको हुँ।

पारस शाहको क्यारिकेचरको तयारीका लागि कति समय लाग्यो?

पहिलो चरणको लकडाउनदेखि नै पूर्वयुवराज पारस शाहको क्यारिकेचर गर्ने सोच बनाएको थिएँ। त्यही बेलादेखि नै उहाँको बारेमा स्टडी गरेर, भिडियोहरू हेरेर क्यारिकेचरको प्राक्टिस गरिरहेको थिएँ।

त्यो क्यारिकेचरको यति धेरै रुचाइएला भन्ने लागेको थियो?

कुनै पनि प्रस्तुतिले यस्तै रिजल्ट देला, वाहवाही होला, यत्तिको रुचाइएला भन्ने पहिले नै केही सोचेको हुँदैन। कमेन्ट या रिजल्ट कस्तो आउँछ भन्ने कुरा दर्शकमा गएपछि मात्र थाहा हुन्छ। अन्य प्रस्तुतिमा पनि पारस शाहको जत्तिकै वा त्योभन्दा बढि मेहनत गरेको थिएँ। त्यो प्रस्तुतिबाट पनि यत्ति धेरै वाहवाही पाउँला भन्नेचाहिँ लागेको थिएन। तर, यसले केही तरंग पैदा गर्ला भन्नेचाहिँ अवश्य पनि लागेको थियो।

पूर्वयुवराज पारसबाट तपाईंको प्रस्तुतिप्रति केही प्रतिक्रिया आयो त?

मेरो उहाँसँग त डाइरेक्ट कन्ट्याक्ट छैन। तर, उहाँनिकट केही व्यक्तिहरूमार्फत उहाँले मेरो कमेडी हेरेर मन पराउनुभयो र राम्रो गर्ने क्यारिकेचर गर्ने रहेछ बेस्ट अफ लक भन्नुभयो भन्ने खबरचाहिँ पाएँ।

तपाईं पारस शाहको फ्यान हो?

हो, म उहाँको फ्यान हुँ। उहाँ रोयल फेमिलीको भए पनि आममानिससरह जीवनयापन गर्दै आइरहनुभएको छ। राजा महाराजाभन्दा पनि उहाँ सरलरूपमा आफूलाई प्रस्तुत गर्नुहुन्छ। बागमती सरसफाइलगायत विभिन्न सामाजिक कार्यमा पनि सहभागी भइरहनुभएको हुन्छ। बाटोमा भेटिएका कुकुरहरूलाई बिस्कुट खुवाइरहनुभएको हुन्छ भने आममानिस र साना–साना नानीबाबुहरूसँग कुराकानी गरेर फोटो खिचिरहनुभएको हुन्छ। त्यसकारण म उहाँको फ्यान भएको हुँ।

पारस शाहलाई प्रत्यक्ष भेट्ने इच्छा पनि छ होला नि?

स्योर छ, मैले क्यारिकेचर गरेका सबै पात्रलाई भेट्ने इच्छा छ। कमेडी च्याम्पियनमा व्यस्त भएकोले समय थिएन। अबचाहिँ मैले क्यारिकेचर गरेका पारस शाह र गोकुल बास्कोटा आदिलाई भेट्ने कोशिस गर्छु। पूर्वमन्त्री गोकुल बासकोटासँग भेट गर्ने कुरा पनि भइसकेको छ। उहाँले त फोन नै गरेर प्रतिक्रिया पनि दिनुभएको थियो। एक दिन उहाँले फोन गरेर ठूलो स्वरले हेल्लो भन्नुभयो। मैले हजुर सर भनेँ। उहाँले म गोकुल बासकोटा, तपाईंले त मलाई उडाइहाल्नुभयो। तर, धेरै राम्रो क्यारिकेचर गर्नुभयो भन्नुभयो। मैले गरेको क्यारिकेचरलाई नेगेटिभ त लिनुभएको छैन नि भनेर सोध्दा उहाँले नेगेटिभ लिएर के गर्नु, पोजेटिभली नै लिएको छु, बेस्ट अफ लक भन्नुभयो।

पूर्वयुवराज पारस र पूर्वमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर निकै हिट भयो। तपाईंले गरेका व्यंग्यका अन्य शैलीभन्दा क्यारिकेचर बढि रुचाइयो नि?

होइन, मैले गरेका सबै प्रकारका व्यंग्य रुचाइएका छन्। क्यारिकेचर या अन्य जुन शैली भए पनि कन्टेन्ट कस्तो छ र पन्चलाइन कस्तो छ, त्यसको आधारमा दर्शकले मन पराउने हो।

तपाईले क–कसको क्यारिकेचर गर्नुभएको छ?

पारस शाह, गोकुल बास्कोटा आदिको त भइहाल्यो। त्यसबाहेक शेरबहादुर देउवा, बाबुराम भट्टराई, मोहन वैद्य, झलनाथ खनाललगायतको क्यारिकेचर पनि गरेको छु। तर, म राम्रो क्यारिकेचरिस्टचाहिँ होइन, मभन्दा राम्राे क्यारिकेचरचाहिँ सुबोध गौतमले गर्नुहुन्छ।

हास्यव्यंग्य यात्राको शुरुवात के–कसरी भएको थियो?

मेरो हास्यव्यंग्यको शुरुवात भनेको गाउँघर तथा स्कुल जीवनदेखि नै भएको हो। गाउँघर र स्कुलमा पनि क्यारिकेचर गर्ने, हँसाउने गरिरहन्थेँ। कहीं जाँदा आफ्नो प्रतिभा देखाउन पाइन्छ र मानिसहरूले चिन्छन् भन्ने हिसाबले अवसर खोजिरहेको हुन्थें। त्यही क्रममा रेडियोमा पनि आबद्ध भएँ। नाटक, सडक नाटक, स्टेज कार्यक्रमहरूमा संलग्न हुँदै संघर्ष गरिरहेको थिएँ। बीचमा टेलिसिरियल भद्रगोलमा पनि खेलेँ।

कमेडी च्याम्पियनमा चाहिँ कसरी पुग्नुभयो?

वास्तवमा कमेडी च्याम्पियन भनेको हामीजस्ता अवसर खोज्नेका लागि राम्रो प्लेटफर्म हो। म पनि अवसर खोजिरहेको मान्छे, आफ्नो प्रतिभा देखाउने राम्रो प्लेटफर्म हुन सक्छ भनेर नै कमेडी च्याम्पियनमा भाग लिएको हुँ। सिजन वानमा नै भाग लिने सोच थियो, तर व्यक्तिगत कारणले गर्दा भाग लिन पाइनँ।

अबको हास्यव्यंग्यको यात्रा कसरी अगाडि बढाउनुहुन्छ?

यही क्षेत्रलाई नै अगाडि बढाउँछु भन्ने त छ, तर अहिले नै यसरी नै अघि बढ्छु भन्ने योजना बनाइसकेको छैन। अग्रजहरूको साथ सर–सल्लाह लिएर अगाडि बढ्नेछु। म स्ट्यान्ड अप कमेडीबाट आएको हुनाले पनि स्टयान्ड अप कमेडीलाई नै बढि प्रायोरिटीमा राखेर अघि बढ्नुपर्छ।

अफरहरू केही आएका छन्?

भर्खरै कमेडी च्याम्पियन जितेको भएर फिल्म, म्युजिक भिडियो, सिरियलबाट अफर आइरहेको छ। भर्खरै विजेता घोषणा भएको र क्रेज रहेका कारण अफर त आउने नै भयो। के गर्दा राम्रो हुन्छ, कसरी मानिसहरूलाई हँसाउन र अझ राम्रो गर्न सक्छु भन्ने सोचेर र सर–सल्लाह लिएर काम गर्ने विचारमा छु।

प्रतिक्रिया दिनुहोस्