मातृभाषी फिल्मतर्फ राज्यको ध्यानाकर्षण



ललितपुरमा हालै आयोजित नेवाः फिल्म सोसाइटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन कार्यक्रममा मातृभाषी फिल्म र फिल्मकर्मीप्रति राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष सुनुवारले आदिवासी मातृभाषी फिल्म क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए। त्यसैगरी, पत्रकार एवं आदिवासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधरले कलाकर्मीहरू संगठित हुनुपर्नेमा जोड दिए। कलाकार राजेन्द्रमान शाक्य र थाइल्यान्डका लागि नेपाल पर्यटन बोर्डका पर्यटन दूत चिरन शाक्यले फिल्म निर्माण गर्दा गुणस्तरमा ध्यान दिन सुझाव दिँदै आफ्नो समुदायको फिल्मलाई प्रोत्साहित गर्नको लागि नेवाः समुदायलाई आग्रह गरे। सोसाइटीका अध्यक्ष लुःजः सिंहले संस्थाका उद्देश्य र गतिविधिबारे जानकारी दिँदै सम्पूर्ण नेवारलगायत आदिवासी जनजाति फिल्मकर्मीहरू एकताबद्ध भई सबैको बृहत्तर हित र उत्थानमा लाग्नुपर्नेमा जोड दिए।

सो साधारणसभा तथा अधिवेशन सभाले विराजकाजी राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ। निर्विरोध निर्वाचित सोसाइटीको नयाँ कार्य समितिको उपाध्यक्षमा दर्शनवीर शाक्य रहेका छन्। त्यस्तै, महासचिवमा आभास राजोपाध्याय, सचिवमा रोहन श्रेष्ठ, कोषाध्यक्षमा सुनीता श्रेष्ठ पनि सर्वसम्मत चयन भए। सदस्यहरूमा रूपेन्द्रकुमार श्रेष्ठ, राजन शाही, राकेश प्रधानांग, विशाल राजभण्डारी, कृष्णशोभा महर्जन र रोजिना सुवाल निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्