पूर्वयुवराज पारसको क्यारिकेचर गरेर भरतमणिले जिते कमेडी च्याम्पियन



पूर्वयुवराज पारसको दुरुस्तै क्यारिकेचर गरेर लोकप्रियता कमाएका भरतमणि पौडेलले सानदार कमेडी टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन–२ को उपाधि चुमेका छन्।

ताप्लेजुङका भरतमणिले आफ्ना निकटतम प्रतिद्वन्द्वी विक्की अग्रवाल र सन्तोष थापालाई पछाडि पार्दै दर्शकको मतका आधारमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा सो उपाधि चुमेका हुन्। उनलाई दर्शकले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, घरबेटी, पूर्वयुवराज पारस शाहको प्रस्तुतिबाट निकै मन पराएका थिए। उनी कमेडी च्याम्पियनमा सात पटकसम्म पर्फमर अफ द शो बन्न सफल भएका थिए।

पौडेलले उपाधि चुमेसँगे कार र २५ लाख नगदसमेत आफ्नो बनाएका छन्। रेडियो तमोरमा टेन्सन–फ्री कार्यक्रम सञ्चालन गर्दै आएका भरतमणिले हास्य टेलिशृंखला भद्रगोलमा अभिनय पनि गरेका छन्।

‘विश्व भूगोलमा बसोबास गर्नुभएका सम्पूर्ण नेपाली र नेपाली मनहरुप्रति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। तपाईंहरूले यस्तो महामारीको समयमा पनि प्रतिस्पर्धा गरिरहँदा मेरो हसाउँने प्रयासलाई साथ दिनुभएको छ। मेरा लागि देश तथा विदेशमा रहेर अभियान चलाइदिनुभयो, मलाई सधैं अगाडि बढ्न प्रेरित गरिरहनुभयो अब मलाई सही निर्देशनमा हिँड्नका लागि खबरदारी गर्ने जिम्मा पनि तपाईंकै हुनेछ’ भरतमणिले उपाधि चुमेपछि भनेका छन् ‘किनकि कमेडी च्याम्पियन सिजन–२ को उपाधि पनि तपाईंकै साथले सम्भव भएको हो। त्यसैले, आगामी दिनहरूमा पनि यत्तिकै माया र साथ पाउनेछु भन्ने कुरामा म ढुक्क छु।’

दोस्रो संस्करणको कमेडी च्याम्पियनमा भारतको सिक्किमका विक्की अग्रवाल फस्ट रनर्सअप भए। फस्ट रनर्सअप भएवापत उनले मोटरसाइकल पाए। विक्कीले टप–३ मा पुग्नुअघिको प्रस्तुतिमा पेन्टोमाइम अभिनय रोजेका थिए, जसलाई निर्णायकले जोखिमपूर्ण प्रस्तुति मानेका थिए भने सन्तोष पन्तले नकरात्मक प्रतिक्रिया दिएका थिए। सन्तोषको सो टिप्पणीले विक्कीलाई भने फाइदा पु¥यायो, दर्शकले उनीप्रति सहानुभूति जनाउँदै भोट दिए। विक्की सिक्किममा मन पराइएका कलाकार हुन्।

शोमा गोरखाका सन्तोष थापा सेकेन्ड रनर्सअप भएका छन्। सेकेन्ड रनर्सअप भएवापत उनले स्कुटर पाएका छन्। केही नाटकमा अभिनय गरेका सन्तोष प्रहरी बने योजनामा थिए।

प्रतिक्रिया दिनुहोस्