अभिनय गर्दागर्दै मर्न पाए हुन्थ्यो भन्ने मट्टारेको सुटिङ सेटमै निधन



साथीभाइमाझ अभिनय गर्दागर्दै मर्न पाए पनि हुन्थ्यो भन्ने गरेका कलाकार रमेश केसी ‘मट्टारे’ को आइतबार सुटिङ सेटमै निधन भएको छ।

आफैं मोटरसाइकल चलाएर हास्यटेलिसिरियल हर्के हवल्दारको टिमले निर्माण गर्न लागेको एक म्युजिक भिडियोमा अभिनय गर्न तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा रहेको हर्के हवल्दारको स्टुडियो पुगेका उनी मेकअप गरेर अभिनयका लागि तयार हुँदै गर्दा अचानक बेहोस भएपछि फेरि होसमा आउन सकेनन्। हर्के हवल्दारका निर्माता तथा कलाकार इन्द्र दोङ लामा ‘खम्बे’ ले उनलाई शहिद गंगालाल अस्पताल पुर्‍याए पनि अस्पतालले हृदयाघातका कारण अस्पताल ल्याउनु अगाडि नै उनको निधन भएको घोषणा गरेको थियो।
हास्यकलाकार उत्तम केसीले रमेश अत्यन्तै प्रतिभाशाली कलाकार भएको बताए। ‘उहाँ निकै प्रतिभावान् कलाकार हुनुहुन्थ्यो। उहाँले काम गर्दा हामीलाई अभिनय सिकाउने गर्नुहुन्थ्यो। राष्ट्रिय नाचघरमा कलाकारको जागिर भएका कारणले थुप्रै नाटकमा अभिनय गरे पनि जागिरका कारण फिल्ममा भने त्यति अभिनय गर्न पाउनुभएको थिएन’ उत्तमले सुनाए। निर्माता तथा कलाकार लामाले केसी लामो समयदेखि मुटुको बिरामी रहेको जनाएका छन्।

रमेशको असामयिक निधनले निकै दुःखद अनुभव भएको हास्यकलाकार जितु नेपालले बताए। ‘प्रायः सबैजसो हास्य टेलिफिल्ममा अभिनय गर्नुभएका रमेश केसी दाइको अप्रत्यासित निधनले निकै दुःखी महसुस भएको छ। मैले जिरे खुर्सानीमा पनि उहाँलाई लिएको थिएँ। हामीले सँगै १०/१५ भागसम्म खेल्याैँ, रक्सी नखाने भए पनि जँड्याहाको अभिनय निकै राम्रो गर्नुहुन्थ्यो’ जितुले सुनाए।

२००८ सालमा ललितपुरको मट्टार (इमाडोल) मा जन्मिएका ६९ वर्षीय रमेश मट्टारमा जन्मिएका कारण मट्टारे उपनामले परिचित थिए। रंगमञ्चबाट कला क्षेत्रमा होमिएका रमेश सांस्कृतिक संस्थानमा कलाकारको जागिरे थिए। २०३४ सालमा अञ्जान नामक नाटकबाट कला यात्रा प्रारम्भ गरेका उनले नाचघरमा रहँदा यमपुरीमा जिउँदो मान्छे, के सक्कली के नक्कली, मुनामदन, क्रमशका टाँसिएको जिन्दगी, पृथ्वीनारायण, मोदीआइन्जस्ता नाटकमा अभिनय गरेका थिए। त्यसैगरी, तीतो सत्य, जिरे खुर्सानी, च्वास्स चुस्स, आफ्नै कथा, अब अति भो, कुलबहादुर काका, खुराफाती, एकादेशको चुरीफुरी, लक्ष्मी, आम्मै जस्ता हास्य टेलिफिल्महरुमा अभिनय गरेका रमेशले लोभीपापी, जे भो राम्रै भो, चंगालगायतका फिल्ममा पनि अभिनय गरेका थिए। उनी जँड्याहा भूमिकालाई सजीव ढंगले उतार्न पारंगत थिए।

रमेशका श्रीमती दुई छोरा र तीन छोरी रहेका छन्। उनका छोरा मधुसूधन केसी प्रमुख सहायक निर्देशकका रूपमा काम गर्दै आएका छन्। रमेशको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्