अमेरिकाबाट आयो दियालीको आशा राखी



गीतकार, आख्यानकार तथा मोडल रमेश दियाली बस्छन् अमेरिकामा, काम गर्छन् नेपाली गीत संगीतका लागि। विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार तथा मोडल दियालीले यसै क्रममा अमेरिकामा तयार पारेको गीत र त्यसको म्युजिक भिडियो नेपाल आएर सार्वजनिक गरेका छन्।

उनको माया प्रेमले भरिएको नवीनतम गीत आशा राखी मनको एउटा पत्र कोरी छोडी दिए गत शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा दियालीको गीत रचना रहेको छ भने सुरेश अधिकारीले संगीत भरेका छन्। गीतको रेकर्डिङ भने नेपालमै गरिएको छ। प्रेम मिलन र बिछोडले भरिएको गीत बानिका प्रधानको गाएकी छिन्।

गीतको म्युजिक भिडियो फिल्मी शैलीमा तयार पारिएको छ। अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको माया प्रेमको कथा छ। म्युजिक भिडियोको निर्देशन लक्ष्मण दियालीले गरेका छन् भने छायांकन विनोद लाम्गदेको छ। यो आकर्षक म्युजिक भिडियोमा गीतकार रमेश दियालीका साथमा मुना क्षत्री र श्रद्धा परियारले लोभलाग्दो अभिनय गरेका छन्।

भुटानी मुलका नेपाली युवा दियालीले दर्जनौं गीत रचना गर्दै आएका छन् भने थुप्रै म्युजिक भिडियोमा मोडलिङसमेत गर्दै आएका छन्। उनले छाप्रो नं. ५५ नामक उपन्यासबाट अन्तर्राष्ट्रिय पुरस्कार चुमेका छन्। उनको यो कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट डायस्पोरा कृति पुरस्कार प्रदान गरेको छ। भुटानी शरणार्थीकै विषयमा लेखिएको छाप्रो नं. ५५ ले धेरैको मन जितेको थियो। यसमा भुटानी शरणार्थीको मर्मस्पर्शी कथा व्यथा उतारिएको छ।

दियालीले यो गीतले आफ्ना अघिल्ला गीतले जस्तै दर्शक स्रोताको मन जित्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्