टिजरमा आयो बहुपति प्रथाको टुल्की



बहुपति प्रथामा आधारित फिल्म टुल्कीको टिजर तथा फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको फिल्मको टिजर र फस्ट लुक बुधबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथामा आधारित कथाको फिल्म डोल्पाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको छ। ‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि फिल्म बनेको छैन। यो यथार्थतामा बनेको पहिलो फिल्म हो। निकै जोखिम मोलेर खिचिएको यो फिल्मका लागि झन्डै चार वर्ष अनुसन्धानमै बितायौं’ राजधानीको नयाँ बानेश्वरस्थित वन सिनेमामा आयोजित कार्यक्रममा निर्माता लामाले भने ‘बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन। जुन भाइले पहिला विवाह गर्‍यो, तीनै भाइकी श्रीमतीसँग सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ।’ लामाका साथ आरपी कर्माचार्यले निर्माण गरेको फिल्म विभिन्न फेस्टिभलमा सहभागी गराएपश्चात् मात्र सिनेमा घरमा सार्वजनिकरूपमा प्रदर्शन गरिने पनि निर्माता लामाले बताए।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन्। त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई फिल्ममा उजागर गरिएको छ। फिल्ममा पश्चिम नेपालमा कुप्रथाको रूपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको छ। चलचित्रको छायांकन र निर्देशन देवजंग थापाले गरेका छन्। शिशिर वाङदेल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायतलगायतका कलाकारले अभिनय गरेको फिल्ममा सञ्जीव लिम्बूको संगीत र तारा थापा किम्भेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्