पुरानो गीतको रिमेकमा बले



सागर लम्साल ‘बले’ अभिनीत नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

झन्डै २० वर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको किन यसरी बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी त्यसमाथि निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतको म्युजिक भिडियोमा सागर लम्साल ‘बले’ सँगै शिक्षा संग्रौला, कुशल विष्ट र सञ्जिता पाण्डे ‘सानु’ ले अभिनय गरेका छन्।

‘पुराना गीतले पुराना साथीभाइको सम्झना दिलाउँछ। तिनै पुराना साथीको सम्झनामा गीत फेरि रेकर्ड गराएर भिडियो बनाइएको हो’ पुराना गीतको रिमेकमा भिडियो निर्माण तथा अभिनय गर्नुको औचित्य प्रस्ट्याउँदै सागरले भने।

गायक प्रमोद निर्वाणले २० वर्षपछि गीतमा केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरेका छन्। उनलाई गीत गायनमा सरला बीसीले साथ दिएकी छिन्। गोल्डेन मड क्रिएसनको किन यसरीलाई बले इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। केही समय पहिले रिमेक गरी चर्चामा आएको गीत तिम्रो मन बदलिएछका निर्देशक निकेश खड्काको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा प्रेममा हुने असमझदारी, दुर्घटना र पश्चातापलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्