निजी क्षेत्रको पहिलो कार्गो आइपुग्यो वीरगन्ज



कृष्णउदास खनाल, वीरगन्ज ।

नेपालका लागि रेलमार्फत् हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट यस्तो सेवा शुरू गरेको कोलकतास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ । हिन्द टर्मिनलको रेल ८८ वटा कन्टेनर लिएर वीरगन्ज सुक्खा बन्दरगाहमा बुधबार विहान आइपुगेको हो । इन्टर मोडल यातायातका समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र रेल्वे सेवा कम्पनी हिन्द टर्मिनलका रिजनल मेनेजर अभिनव गुप्तासहितको टोलीले रेलमार्गमा कन्टेनरसहितको रेललाई हरियो झण्डा र नेपालको झण्डा देखाएर स्वागत गर्नुभएको थियो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयमा महिनामा दुईपटक सामान लिएर रेल आउने लक्ष्य रहेको हिन्द टर्मिनलका मेनेजर गुप्ताले बताउनुभयो । निजी क्षेत्रबाट पहिलोपटक रेल्वे सेवा शुरू भएपछि भारतीय सरकारी रेल सेवाको एकाधिकार तोडिएको छ । नेपालमा रेलवेमार्फत् मालसामान ढुवानीमा निजी सेवा प्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको उपमहावाणिज्यदूत तर्कराज भट्टले बताउनुभयो । नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत् हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो ।

तीन महिनाअघि मात्रै सम्झौता संशोधन भएको थियो । संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापटनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो । एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ वटा निजी कम्पनीले रेलमार्फत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चार वटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।

रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । यसबाट नेपालको ढुवानी प्रतिस्पर्धी हुने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताउनुभयो । ढुवानीलाई थप प्रतिस्पर्धी बनाउन नेपालको निजी क्षेत्रलाई समेत ढुवानीमा सहभागी गराइनुपर्ने सुझाव संयोजक टेमानीको छ ।अहिले वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । त्यस्तै भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूहले पनि वीरगन्जसम्म कन्टेनर ढुवानीको तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्