निमाको पागल प्रेमी अमेरिकाबाट आउँदै



क्यावाक गायक तथा कागबेनीका नायक निमा रुम्बाका फ्यानहरूले लामो समयको अन्तरालपछि उनको नयाँ गीत सुन्न र हेर्न पाउने भएका छन्।

गायक तथा नायक रुम्बाले आफ्नो हिट नम्बर पागल प्रेमीपछि पागल प्रेमी—२ गाएका छन्। यो गीत अमेरिकामा खिचिएको आकर्षक म्युजिक भिडियोका साथ अमेरिकाबाट रिलिज हुने भएको छ।

यो रोमान्टिक डान्सिङ नम्बरमा निमाकै शब्द संगीत र स्वर रहेको छ। निमाले पागल प्रेमी २०५० सालमा ल्याएका थिए भने पागल प्रेमी—२ को रूपमा ल्याएको क्रेजी लभर बोलको गीत केही वर्षअघि नै रेकर्ड गराएका थिए। उक्त गीतका लागि निमा रुम्बा र गायक स्व. सुनील बर्देवाको जोडीले २०७० मा एरेन्ज शुरू गरेका थिए भने उक्त गीत तयार गर्न करिब दुई वर्ष लागेको थियो। निमाका गीतमा सुनीलले सहकार्य गर्दै आएका थिए। सुनीलको असामयिक निधनसँगै पागल प्रेमी—२ क्रेजी लभर भने निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ।

यसको म्युजिक भिडियोको निर्देशन लामो समयदेखि अमेरिकामा रहेर क्रियाशील रहँदै आएका आशिष श्रेष्ठले गरेका छन्। म्युजिक भिडियोमा पटकथा र सम्पादन पनि उनकै रहेको छ। गीत केही वर्ष अगाडि नै तयार भए पनि विभिन्न देशको सांगीतिक यात्राका कारण निमा व्यस्त हुन पुगेपछि र आफ्नो परिकल्पनाअनुरूप पर्दामा उतार्न सक्ने निर्माता नभेटेका कारण गीतको म्युजिक भिडियो समयमै तयार गर्न नसकेको निमाले बताए।

अहिले भने यो गीतको म्युजिक भिडियो अमेरिकामा क्रियाशील युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको हो। गायक रुम्बाले यसको म्युजिक भिडियो पहिलोपटक विदेशी भूमिमा, त्यो पनि हलिउडको स्तरमा तयार भएकोमा खुसी व्यक्त गरे।

म्युजिक भिडियोका निर्देशक आशिष श्रेष्ठका अनुसार अमेरिकाको टेक्सासस्थित डेलासका विभिन्न रमणीय स्थानमा तीन दिन लगाएर यसको छायांकन गरिएको छ। म्युजिक भिडियोमा निमा स्वयंले मुख्य भूमिका निर्वाह गरेका छन् भने मिस्टर यूएसए तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले पनि अभिनय गरेका छन्। उत्सव यो उपाधि जित्ने पहिलो नेपाली हुन्। त्यसैगरी, मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्माले पनि यसमा अभिनय गरेकी छिन्। अशिंकाले यही वर्ष फ्लोरिडामा सम्पन्न मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। म्युजिक भिडियोको सह–निर्माता आहा प्रोडक्सनका उज्ज्वल सिंह रहेका छन्।

निर्देशक श्रेष्ठका अनुसार यसमा म्युजिक भिडियो आकर्षक बनेको छ र आगामी सेप्टेम्बर २३ मा रिलिज गरिनेछ।

विभिन्न म्युजिक भिडियो तथा सर्ट फिल्म बनाउँदै आएको आशिषको युवा फिल्म्स्ले फिचर फिल्म सफरसमेत निर्माण गरेको थियो। आशिषले ब्लक बस्टर तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेकका लागि अधिकार प्राप्त गरे पनि कोभिड–१९ को कारण उक्त फिल्मको काम रोकिएको बताए। त्यसैगरी, आहा प्रडक्सनले थुप्रै लघु फिल्म र म्युजिक भिडियो उत्पादन गर्दै आएको छ। यसबाहेक, कोबवेब, १९७४ एडी, मुक्ति एन्ड द रिभाइभल्स, सुगम पोखरेल, नेपाल आइडल सिजन–१ को अमेरिका सांगीतिक यात्रासहित थुप्रै कन्सर्ट आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्