लोकगायक खत्रीको निधन शंकास्पद



लोकगायक बुद्धबहादुर खत्रीको हालै निधन भएको छ।

दोलखा जिल्ला प्रहरीका प्रवक्ता तथा प्रहरी निरीक्षण अञ्जन कोइरालाका अनुसार गत २३ गते दिउँसो ३ बजे उनलाई भिरबाट लडेको अवस्थामा फेला पारिएको थियो। किन र कसरी उनी त्यहाँ पुगे भन्नेबारे अनुसन्धानमा नै रहेको उनले बताए। ‘उहाँलाई स्थानीय गोठालाले बाख्रा चराउने क्रममा मृत अवस्थामा फेला पारेका थिए। प्रहरीलाई खबर गरेपछि हामी त्यहाँ गएका थियौँ। उहाँको शव हेर्दा एक दिनअघि नै निधन भएको जस्तो देखिन्थ्यो। उहाँको साथमा रहेको मोबाइलबाट कल गरेर शव आफन्तलाई जिम्मा लगाएका हौँ। घटनाको प्रकृति हेर्दा लडेको जस्तो देखिन्छ’ उनले भने।

मृतकका छोरा सञ्जीव खत्रीका अनुसार उनले अघिल्लो साँझसम्म फोन गरेर, आफू खुर्कोटमा बास बसेको र भोलि या पर्सि काठमाडौं आइपुग्ने बताएका थिए। तर, भोलिपल्ट मृत्यु भएको सुन्दा अपत्यारिलो लागेको सञ्जीवले बताए। उनले बुवाको लडेर मृत्यु नभई कसैले हत्या गरे आशंका व्यक्त गरे।

मृतक खत्रीका भाइ अर्जुन दाहालले के–कसरी घटना भयो जानकारी नभएको बताए भने उनको पोस्टमार्टमको रिपोर्ट आइनसकेको जानकारी दिए। गायक माधव थापाले यो मृत्यु लडेर नभई मारिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। घटनास्थल पुगेका उनले लडेर मर्ने अवस्थासमेत नदेखिएको जानकारी गराए। मृतक गायक खत्रीका श्रीमती, तीन छोरा, एक छोरी रहेका छन्। उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

गायक खत्रीले २ सयभन्दा बढी गीतमा स्वर दिएका छन्। उनले धेरैजसो आफ्नो जन्मथलो सिन्धुलीको सेरोफेरोका गीत गाउने गरेका थिए। गायक खत्रीद्वारा स्वरबद्ध गरिएको गीत पूर्वे मोरङ, कटारीमा गेट, सुन्दर सिन्धुली, के छ मनको सुर चर्चामा छन्। केही गीत उनको रेकर्डका क्रममा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्