धर्म र संस्कार सिक्दै नेवार सुन्दरी



नेवार समुदायका दुई दर्जन किशोरीहरू आफ्नो धर्म र संस्कार सिकिरहेका छन्। नेवार सुन्दरीलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवा : प्रतिस्पर्धीहरू धर्म र संस्कार सिक्न लागि परेका हुन्।

नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार कोरोना संक्रमणबाट हुने कोभिड–१९ का कारण दुई वर्षदेखि हुन नसकेको मिस लिटिल नेवाः यस वर्ष आगामी कात्तिक ६ गते शनिबार राजधानीमा हुनेछ। १३औं संस्करणको यो प्रतियोगितामा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी अन्तिम स्पर्धामा उत्रँदैछन्।

प्रतियोगितामा सहभागी किशोरीहरूलाई शुरूदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिन नेप्लिज फेसन होमले हालै पूजाआजाका कार्यक्रम आयोजना गरेको थियो। जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरूलाई जनबहालस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजाआजा गराइएको छ। त्यस अवसरमा प्रतियोगी नेवार किशोरीहरूले विश्व शान्ति तथा कोरोनाबाट छुट्काराको कामना गर्दै पूजाआजा गरेका थिए। वडा नम्बर २५ का अध्यक्ष तथा कलाकार नीलकाजी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विज्ञले सेतो मच्छिन्द्रनाथको महिमा र ऐतिहासिकताबारे सहभागीलाई जानकारी गराएका थिए। प्रतियोगीहरूलाई लाखबत्ती बाल्न पनि सिकाइएको थियो।

त्यसैगरी, प्रतियोगी किशोरीहरूलाई आइतबार महांकाल मन्दिरमा समयबजी डो बनाउन सिकाएर चढाउन लगाइएको छ। सो अवसरमा समयबजी डोको महत्वबारे बुझाइएको थियो। समयबजी डो विभिन्न १४ परिकारबाट तयार पारिएको थियो।

लिटिल मिस नेवाः प्रतियोगिताको अन्तिम स्पर्धा मिस नेवाःकी फस्ट रनर्सअप प्रियंका तण्डुकार, बेस्ट पर्सनालिटी पलपसा श्रेष्ठ र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुनेछ। त्यसैगरी, मिस नेवाः सुनीता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् भने विभिन्न विधाका विज्ञले विविध विषयमा प्रशिक्षण दिनेछन्। हरेक वर्ष नेवार समुदायका युवतीका बीच मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार समुदायका किशोरी र युवतीहरूको आत्मविश्वास र क्षमता वृद्धिका लागि यस्ता प्रतियोगिता आयोजना गरिँदै आएको हो।

प्रतिक्रिया दिनुहोस्