कलाकारको बुढेसकालको परिकल्पनामा रोए कलाकर्मी



सिर्जनशील अभिनेता सरोज खनाल फेरि एकपटक दमदार भूमिकामा देखिएका छन्। अभिनेता खनाल जीवनको पाना बोलको गीतको म्युजिक भिडियोमा शसक्त अभिनयका साथ नयाँ अवतारमा देखिएका हुन्।

गीत ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रष्ठले गाएका छन्। अभिनेता खनालकै परिकल्पनामा तयार पारिएको म्युजिक भिडियोमा उनकै फिल्मका दृश्यहरू समावेश छन् भने जीवनभर कलाको पूजा गरेको कलाकारको योगदानलाई उसको बुढेसकालमा गरिने अवमूल्यनको यथार्थ कथा प्रस्तुत गरिएको छ।

शनिबार सुन्धाराको सीटीसी मलमा म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा भिडियो हेर्दै गर्दा त्यहाँ उपस्थित कलाकारका आँखामा आँशु छछल्किन पुगे। अभिनेता खनालको एकल अभिनय रहेको भिडियोका दृश्य र गीतको भावमा डुबेका सबैजसो कलाकारका आँखामा आँशु बगेका देखिन्थे। वृद्धावस्थामा पुगेको एउटा कलाकारको विगत र वर्तमानलाई सात मिनेटको गीतमा खनालले गरेको जीवन्त अभिनयबाट प्रभावित नहुने कोही थिएन। गीत र त्यसको भिडियो हेरिसकेपछि पोडियममा बोल्न पुगेका ख्यातिप्राप्त फिल्मकर्मी नीर शाह केहीबेर बोल्नै सकेनन्, अचानक उनको गला अवरुद्ध हुन पुग्यो। विस्तारै आफूलाई सम्हालेका उनले शब्द, संगीत, स्वर, भिडियो र सरोज खनालको अभिनय उच्चकोटीको रहेको बताए। उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाली कलाकारिताबाट निकालिदिने हो भने यो क्षेत्र रित्तो देखिने पनि बताए। भिडियो हेरिसकेदेखि अभिनेत्री गौरी मल्लले पनि आँशु थाम्न सकिनन्। खनालले पोडियममा गएर बोल्ने क्रममा गौरीलाई भने ‘गौरी नरो।’ गौरीलाई नरुन भन्दा खनाल स्वयंको आँखाबाट भने आँशु बगिरहेका थिए।

‘मलाई मदन दाइले जिन्दगीभर हसाउँनुभयो। तर, उहाँलाई मैले अस्ति रुवाएँ’ केही दिनअघि भिडियो हेरेर मदनकृष्ण स्वयं रोएको स्मरण गर्दै खनालले भने ‘क्षमा चाहान्छु दाइ।’ मदनकृष्ण श्रेष्ठले भने स्थितिलाई नियन्त्रण गर्ने प्रयास गर्दै ठट्यौली गरे ‘आज सरोजजीले गौरीलाई रुवाउनुभयो। केही दिनपछि गौरी र म उफ्री उफ्री नाचेको देख्नुहुनेछ। त्यो हेरेर हाँस्नुहोला।’ मदनकृष्णले आगामी असोज २ गते रिलिज हुने आफू र गौरीद्वारा अभिनीत सुनको कचौरी बोलको गीतको म्युजिक भिडियोको प्रसंग जोड्दै भने।

जीवनको पानामा गीत रचना बमबहादुर श्रेष्ठको रहेको छ भने संगीत सन्तोष श्रेष्ठले भरेका छन्। केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोलाई राज केसीले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा छायांकन निर्देशन हरि हुमागाईं, छायांकन उत्तम हुमागाईं, सम्पादन रमेश थापाको रहेको छ। म्युजिक भिडियोलाई अगाडि बढाउने क्रममा अभिनेता खनालले रमण घिमिरेको कविता पनि वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्