तीजलाई सुहाउँदो सौन्दर्य शैली



सुष्मा महरा ।

नेपाली हिन्दू नारीहरूको पर्व हरितालिका तीज सुरू भएको छ। हरितालिका तीजको अवसरमा सेलिब्रेटीदेखि सामान्य महिलाहरू रातो सारीमा चिटिक्क परेर हिँडडुल गर्ने, नाच्ने गाउने तथा आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्। हाम्रो संस्कार र संस्कृतिमा केही परिवर्तन आएसँगै तीज पर्वको रौनकले महिलालाई मात्र होइन, कतिपय पुरुषलाई पनि छोएको छ। विभिन्न स्थानमा हुने तीज कार्यक्रममा महिला सँगसँगै पुरुषको पनि उत्तिकै सहभागिता देख्न सकिन्छ। जसले गर्दा हाम्रो मौलिकता हराउने हो कि भन्ने गुनासो पनि सुन्ने गरिएको छ।

त्यसो त, परिवर्तनको लहरसँगै पश्चिमी जीवनशैली, उत्ताउला र भड्किने रमझमले गुनासा बढ्नु स्वभाविकै हो। तैपनि सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान बोकेको यो पर्वले हिन्दू धर्मावलम्बीको उत्कृष्ट पहिचान बोकेको छ। विशेषगरी, धार्मिक र सांस्कृतिक पक्ष ओगटेको यो चाडले महिलाको अस्तित्व उच्च स्थानमा कायम राखेको छ। यस्तो पर्वलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन आधुनिकीकरणको नाममा भड्किलो र असभ्य पहिरन तथा मेकअप गर्न हुन्न।

म एक सौन्दर्यविद् भएकाले तीज पर्व मेरो लागि विशेष पर्व हो। आफू र अरूलाई सजाउनु र राम्रो बनाउनुमा नै म रमाउँछु। अहिलेको यो बदलिँदो समयसँगै तीज मनाउने तौरतरिकामा पनि रूपान्तरण भएको छ। दुःख वेदनाका गीत मात्र होइन, रमाइला गीत संगीत पनि गुञ्जिने भएकाले यसपालिको तीज अरू बेलाको भन्दा फरक छ, तर समाजका हरेक तह र तप्काका मानिसले आ–आफ्नोनै शैलीमा तीजलाई उत्सवको रूपमा मनाउन थालेकाले यसलाई राम्रो मान्न सकिन्छ।

जाडो होस् अथवा गर्मी, सुन्दर देखिने चाहना सबैको हुन्छ। अहिले गर्मीसँगै तीजको रौनकले छोएको छ। यतिबेला त झन् महिलालाई धेरै नै राम्री देखिनुपर्ने हुन्छ। सबैको नजर ममा परोस् भन्ने चाहना सेलिब्रेटीदेखि अन्य क्षेत्रका सबै महिलामा हुन्छ। गर्मी मौसमको यो तीजमा मेकअप गर्नुभन्दा अघि चिसो पानीले अनुहार धुनुपर्छ। यसले अनुहारलाई फ्रेस देखाउँछ। यसबाट अनुहारमा लामो समयसम्म मेकअप टिक्छ। अर्को छुटाउनै नहुने कुरा भनेको मेकअप गर्नुअघि प्राइमर प्रयोग गर्नै पर्छ।

यसले आकर्षक देखाउन सघाउँछ। आँखा ठूलो होस् या सानो, आँखालाई सजाउनका लागि गर्मीमा ब्ल्याक आइलाइनर उपयुक्त हुन्छ। ब्ल्याक आइलाइनरबाट आँखालाई आफ्नो रुचिअनुसार सजाउन सकिन्छ। आँखाको मेकअप गर्दा आफूले लगाएको ड्रेस अनुसार मिलाउनुपर्ने हुन्छ। तीजमा रातो पहिरन लगाउने हुँदा आँखामा रातो आईस्याडो लगाउँदा राम्रो देखिन्छ। गर्मी महिनामा छिनछिनमै मौसम परिवर्तन हुने र पानी पनि पर्ने भएकाले वाटर प्रुफ मेकअप गर्नुपर्ने हुन्छ।

आँखाको मेकअप गर्दा आईस्याडो र आईलाइनर तल झर्न सक्छ। त्यसका लागि आँखाको मुनि थोरै फाउन्डेसन लगाउनुपर्छ। चिल्लो मेकअपभन्दा पनि फुस्रो मेकअप गर्नु उपयुक्त हुन्छ। जसले गर्दा पसिना आयो भने पनि मेकअप सेट भएको हुन्छ र मेकअप बिग्रने डर हुँदैन। वाटर प्रुफ मेकअप गर्दा क्रिम बेसको प्राइमर प्रयोग गर्नुहुँदैन, सिलिकन बेसको प्राइमर प्रयोग गर्नुपर्छ। त्यसैगरी, सनब्लक लगाउँदा २४ घण्टा रहने वाटर पु्रफ लगाउनुपर्छ। दाग धब्बा छ भने कन्सिलर प्रयोग गर्नुपर्ने हुन्छ।

याद राख्नुपर्ने कुरा के छ भने गर्मीमा हल्का मेकअप नै ठीक हुन्छ। सबैलाई हेबी मेकअप सुहाउँछ भन्ने पनि हुँदैन र सबैलाई मेकअप गर्न आउँछ भन्ने पनि छैन। त्यसैले, सामान्य मेकअप गर्नका लागि ग्लस अथवा नेचुरल लिप कलर उपयुक्त हुन्छ। तीज पर्व मनाउन घरबाट बाहिर निस्किँदै हुनुहुन्छ भने आफ्नो छालालाई पनि विशेष ध्यान दिनुपर्छ। त्यसका लागि सकेसम्म सिरम्स, बेबी क्रिम तथा प्राइमर्स आफूसँगै राख्नुभयो भने सहज हुन्छ। गर्मीमा पसिनाका कारण मेकअप पग्लिने डर रहन्छ। त्यसका लागि वाटरप्रुफ कन्सिलर प्रयोग गर्नुपर्छ। अन्य मेकअप पनि वाटरप्रुफ हुनुपर्छ। ओयल फ्रि र वाटर बेस्ड ब्युटी प्रोडक्ट प्रयोग गर्नुपर्ने हुन्छ। गर्मीको लागि यो उपयुक्त हुन्छ।

मेकअप गर्दा लिपिस्टिको धेरै महत्त्व हुन्छ। यो लगाउँदा हामीले ध्यान दिनुपर्ने कुरा भनेको सुख्खा ओठ हुनेहरूले लिप वाम लगाउनुपर्ने हुन्छ। जसले गर्दा ओठ फुट्दैन। अहिले त यो कोभिडको समयमा हामीले मास्क लगाउनुपर्ने भएकाले लिपिस्टिक लगाउँदा डबल कोट लगाउनुपर्ने हुन्छ। जसले गर्दा छिटै पुछिने डर हुँदैन।

(महरा, सेलिब्रेटी सौन्दर्यविद् तथा फेसियल हाउसकी सञ्चालिका हुन्।)

प्रतिक्रिया दिनुहोस्