निषेधाज्ञा हटेसँगै फेसन शो



निषेधाज्ञाका बीच लुकीछिपी विभिन्न कार्यक्रम आयोजना गरिँदै आएकोमा त्यसको अन्त्यसँगै सार्वजनिकरूपमा कार्यक्रमहरू हुन थालेका छन्।

निषेधाज्ञाको अन्त्यसँगै अभिनेता तथा मोडल यशराज गराचको कोरियोग्राफीमा राजधानीमा एक आकर्षक फेसन शो आयोजना गरिएको छ। ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा पेप्सीकोलास्थित इन्टरनेसनल डान्स एकेडेमीमा ब्राइट इभेन्ट फेसन शो भएको हो।

कोरियोग्राफर तथा कार्यक्रम प्रस्तोता रोजिन शाक्यद्वारा सञ्चालित फेसन शोमा वीरगञ्ज, विराटनगर, जनकपुर, सिराहा, रौतहट, दोलखा, भक्तपुर र काठमाडौंका मोडलले विभिन्न सिक्वेन्समा बिरालोको चाल मार्दै विभिन्न पहिरन प्रदर्शन गरेका थिए। शोको पहिलो सिक्वेन्समा मोडलहरू दर्शकदीर्घाबाटै उठेर दौडँदै र्‍याम्पमा उक्लिएका थिए। फेसन शोमा सिरहा, विरगञ्ज तथा जनकपुरका मोडलको प्रस्तुतिलाई दर्शकहरूले हुटिङ गर्दै उत्साहित गरेका थिए। फेसन शोमा केही अतिथि मोडलहरूद्वारा गरिएको सिक्वेन्स प्रभावकारी बन्न पुगेको थियो। केही अघि सम्पन्न मिस ग्लोरियस नेपाल २०२१ का प्रतिस्पर्धीहरू तथा विजेताको विशेष सिक्वेन्सलाई दर्शक मन पराए।

फेसन शोमा गौतम ठाकुर, अर्मन सहनी, कुसुम रसाइली, इच्छा अधिकारी वर्षा श्रेष्ठ, निर्भिक सिंह, राहुल जैसवाललगायत अतिथि मोडलको रूपमा सहभागी भएका थिए। मोडलहरूलाई स्पर्श : अ म्याजिकल टच ब्युटी इन्स्टिच्युटले साज–सज्जा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्