इथियोपियामा हजारौं लडाकु मारिएको दाबी



एडिस अवावा, (एजेन्सी) ।

इथियोपियाली सेनाले आफूहरूले मुलुकको उत्तरी भागमा संघर्षरत ५ हजार ६ सय जनाभन्दा बढी टाइग्रे लडाकु फौज मारेको दाबी गरेका छन् । सो क्षेत्रमा गत नोभेम्बरदेखि हिंसात्मक द्वन्द्व चर्केको थियो । तर, वरिष्ठ जनरल बाचा डेवेलेले कति समय अवधिभित्र सो संख्यामा लडाकु मारिएको भन्ने जारी गरिएको विज्ञप्तिमा स्पष्ट पारिएको छैन । पत्रकारहरूले भने ती लडाकु पछिल्ला युद्धमा मारिएको हुनुपर्ने अनुमान गरेका छन् ।

साथै जनरल डेवेलेले थप २ हजार ३ सय लडाकु घाइते भएको तथा २ हजार जनालाई बन्दी बनाइएको पनि दाबी गरेका छन् । संयुक्त राष्ट्र संघका अनुसार यस द्वन्द्वका कारण लाखौं सर्वसाधारण जनता भोकमरीको मारमा परेका छन् । लेफ्टिनेन जनरल डेवेलेले टाइग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ ) ले छिमेकी भूभाग आम्हारा र आफर कब्जा गरिसकेको र अहिले इथियोपियालाई नै टुक्राउन खोजेको आरोप पनि लगाएका छन् ।

गतवर्ष टाइग्रे क्षेत्रको मुख्य राजनीतिक पार्टी टीपीएलएफका नेताहरू र प्रधानमन्त्री एवि अहमदको सरकारबीच महिनौंसम्म गम्भीर मतभेद सिर्जना भएपछि युद्ध शुरू भएको हो । सैनिक शिविरहरूमा हुने गरेका हिंसात्मक आक्रमणमा टीपीएलएफको हात रहको आरोप लगाउँदै क्षेत्रीय सरकारलाई अपदस्थ गर्न राष्ट्रपतिले टाइग्रेमा सेना पठाएका थिए ।

यस युद्धका कारण लाखौं मानिस घरबारविहीन हुन पुगेका छन् भने हजारौंले छिमेकी मुलुक सुडानमा शरण लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्