८ पूर्वप्रधानसेनापतिलाई भारतको निम्तो



काठमाडौं, (नेस) ।

नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाले गरेको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रूपमा लिन सकिने बताएको छ ।

पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाले गरेको निमन्त्रणाका सम्वन्धका बारेमा नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्पराअनुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरका रूपमा कार्यक्रममा सहभागी हुन उहाँहरुलाई निमन्त्रणा प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिका रूपमा भाग लिई अवलोकन गर्नुभएको थियो, यो विगतको अभ्यास र परम्परा रही आएको छ । त्यसकै निरन्तरताका रूपमा उहाँहरुको निम्तालाई लिन सकिन्छ ।’

भारतीय सेनाका मानार्थ महारथी रहनुभएका पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाकातर्फबाट चिफ कन्क्लेभ सेमिनारका लागि निमन्त्रणा प्राप्त भएको पुष्टि गर्दै प्रवक्ता पौडेलले उहाँहरु व्यक्तिगतरूपमा कार्यक्रममा सहभागी हुनुहुने जानकारी दिनुभयो । पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापा, प्रज्ज्वलशमशेर राणा, प्यारजंग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरवशमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई भारतीय सेनाको दिल्लीमा हुने विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिएको हो ।

उहाँहरुलाई प्राप्त भएको निमन्त्रणका विषयमा नेपाली सेनाले रक्षा मन्त्रालयलाई जानकारी गराइसकेको छ । उक्त कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सेनाको संस्थागत विकासबारे अध्यावधिका साथै आवश्यकताअनुसार सल्लाह सुझाव आदान–प्रदान एवं केही अनौपचारिक विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्