पर्वत पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङ्ग, पकुवा, सिल्मी र मोदी गाउँपालिकामा गएको पहिरोमा परेर एकै परिवारका ५ जना सहित १० जनाको मृत्यु भएको हो ।

पर्वतको दुर्लुङ्गमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उहाँकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ । साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ ।

मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद छ । सञ्चार सम्पर्क बिच्छेद र निरन्तर बर्षाका कारण उद्दारमा कठिनाई भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले बताउनुभयो ।
समाप्त भदौ १८

प्रतिक्रिया दिनुहोस्