जापानमा मोडर्ना खोपमा काला तत्व भेटिए



टोक्यो, (एजेन्सी)

जापानले एउटा भायलमा अज्ञात कालो तत्वहरू देखिएपछि कोभिड–१९ विरुद्धको मोडर्ना खोपको एउटा ब्याचकै प्रयोग रोकेको छ । सरकार निकायका अनुसार कानागावा क्षेत्रका एक जना औषधि पसलेले खोपको एउटा भायलमा थुप्रै काला तत्व देखेको जनाएको छ ।

सोही ब्याचबाट करिब ३ हजार ७ सय ९० जना व्यक्तिले खोप लिइसकेका छन् । तर, बाँकी खोप अहिले रोक्का गरिएको छ । जापानले दूषित भएका कारण देखाउँदै करिब १६ लाख ३० हजार मोडर्ना डोजको प्रयोग निलम्बित गरेको एक साता बित्न नपाउँदै यो नयाँ घटना विकसित भएको हो ।

खोपको आन्तरिक वितरकले त्यस खराब खोप सबै संकलन गरेको छ ।

तर, स्थानीय सञ्चारमाध्यमले अहिलेसम्म यस्ता दूषित भनिएका खोप लिएका व्यक्तिहरूमा स्वास्थ्यसम्बन्धी कुनै गम्भीर समस्या नदेखिएको जनाएको छ ।

गत साता मात्र जापानमा मोडर्ना खोपको बिक्री र वितरण गर्ने ताकेदा फर्मास्युटिकलले करिब ५ लाख ६० हजार भाइलको एउटा ब्याचको केही डोजमा ‘बाह्य तत्वहरू’ फेला परेको भन्दै तीन ब्याच खोप रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्