वायु प्रदूषणका कारण प्रत्येकको नौ वर्ष आयु घट्दै



नयाँदिल्ली, (एजेन्सी) ।

अमेरिकाको एक अनुसन्धान समूहले सार्वजनिक गरेको एक प्रतिवेदनमा वायु प्रदूषणका कारण भारतीयहरूको औसत आयु नौ वर्षले घट्न सक्ने जनाएको छ ।

यस अध्ययनले उत्तरी भारतको ४८ करोड मानिसले विश्वकै सबैभन्दा खतरनाक स्तरको वायु प्रदूषण समस्या भोगिरहेको जनाएको छ । साथै, भारतका अन्य भागमा पनि प्रदूषणको स्तर झन्–झन् खतरनाक हुँदै गइरहेको बताइएको छ ।

साथै, यस प्रतिवेदनमा यदि कडा सफा वायु नीतिहरू कार्यान्वयन गरिएको खण्डमा मानिसहरूको औसत आयु पाँच वर्षसम्म थपिने पनि जनाइएको छ ।

भारतका थुप्रै शहरहरूले विश्वव्यापी वायु प्रदूषण वरीयतामा नियमितरूपमा आफ्नो स्थान ओगटिरहेका छन् । वायु प्रदूषणकै कारण भारतमा प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

सिकागो विश्वविद्यालयको उर्जा नीति प्रतिष्ठान (ईपीआइसी) को सो प्रतिवेदनले उत्तरी भारतको प्रदूषण विश्वका अन्य कुनै स्थानमा भन्दा १० गुणा बढी खराब रहेको जनाएको छ । दशकौं अवधि बीच यहाँको वायु प्रदूषण पश्चिमी र मध्यभारतीय राज्यजस्तै महाराष्ट्र र मध्यप्रदेशमा पनि फैलिँदै गएको छ ।

सन् २००० को पूवाद्र्धको तुलनामा ती स्थानमा अहिले मानिसहरूको औसत आयु साढे दुईदेखि तीन वर्ष घट्दै गइरहेको बताइएको छ ।

उक्त प्रतिवेदनमा विश्वमै सबैभन्दा बढी वायु प्रदूषण भएका पाँच मुलुकको सूचीमा बंगलादेश, भारत, नेपाल र पाकिस्तान रहेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्