कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि



काठमाडौं ।

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने उक्त प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मूल आयोजक समितिका संयोजकसमेत रहनुभएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानु चन्दले जानकारी दिनुभयो । तीन सय ९० पुरुष र २०३ महिला खेलाडीले सहभागिता जनाउनेछन् ।

तेह्रौँ दक्षिण एशियाली खेलकुद सागअन्तर्गत पुम्सेमा पदक जितेका प्रायः सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगितामा कूल २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत स्पर्धाको पुरुष-महिलामा छ–छ गरी १२, पेयर र टिममा समान छ–छ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान एक–एक गरी दुईसहित कूल २६ स्पर्धा समावेश छन् ।

विगतमा भौतिकरूपमा प्रतियोगिता आयोजना हुँदै आएकामा कोरोनो भाइरसको जोखिमलाई मध्यनजर गरी भर्चुअलरूपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्