‘प्रयागराज पाण्डे फाउण्डेशन’को चौथो साधारण सभा सम्पन्न, अध्यक्षमा अमात्य चयन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालका प्रथम वोटानिष्ट प्रयागराज पाण्डे फाउण्डेशनको चौथो साधारण सभा सम्पन्न भएको छ । वनस्पति क्षेत्रको संस्थागत विकासका लागि झण्डै पाँच वर्ष अघि स्थापित तथा प्रवर्द्धित फाउण्डेशनको वार्षिक साधारण सभा भर्चुअल माध्यमार्फत् सम्पन्न भएको हो । सभाले सन् २०२१—२०२२ का लागि वनस्पतिविद् पुष्पमान अमात्यको अध्यक्षतामा १४ सदस्यीय कार्यकारी समिति चयन गरेको छ ।

नवनिर्वाचित अमात्य वनस्पति विषयमा समेत अध्यापन हुँदै आएको कान्तिपुर भ्याली कलेजका प्रिन्सिपल तथा ललितपुर महानगरपालिकाका वर्तमान वनस्पति सल्लाहकार समेत हुन् । निर्वाचित अन्य पदाधिकारीहरुमध्ये सहअध्यक्षमा धर्मात्मलाल श्रीवास्तव, प्रथम उपाध्यक्षमा हरिकृष्ण सैंजू, द्धितीय उपाध्यक्षमा डा. महेन्द्र नाथ सुवेदी, तृतीय उपाध्यक्षमा उषा बाबा जोशी, महासचिवमा लक्ष्मी तिवारी पराजुली र सचिवमा शान्ता देवकोटा उपाध्याय छन् ।

समितिकाे कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः अर्जुन बिष्ट र स्वयंभु रत्न तुलाधर निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा बटुकृष्ण उप्रेती, लोकनाथ पाठक, नविन श्रेष्ठ, लजमिना जोशी, हरिकृष्ण क्षेत्री छन् । बाँकी एकजना सदस्य नवनिर्वाचित अध्यक्षबाट तोक्ने प्रावधान छ ।

पूर्व प्राध्यापक एवं राजदूत डा. मोहन प्रसाद लोहनीले कोरोनाको कहरका वावजूद पनि फाउण्डेशनको उद्धेश्य परिपूर्तिमा भर्चूअल माध्यमबाट समेत विभिन्न क्रियाशील कार्यहरु सम्पन्न गरेकोमा निवर्तमान अध्यक्षको समूहलाई धन्यवाद ज्ञापन गरे ।

फाउण्डेशनका निवर्तमान अध्यक्ष तथा नाष्टका सचिव डा. महेश कुमार उपाध्यायले अध्यक्षको आसनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाउण्डेशनका विभिन्न गतिविधिहरु सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा डा. शम्भुराम सिंखडा, बिमल राज पाण्डे, कुंवेरजंग मल्ल, कमल राज पाण्डे, हरिशंकर सैंजू, डा. महेन्द्रनाथ सुवेदी, स्वयंभुरत्न तुलाधरले संस्थाका विभिन्न गतिविधिमाथि प्रकाश पारेका थिए ।

चौथो साधारण सभाका निर्वाचन अधिकृत तथा फाउण्डेशनका संस्थापक अध्यक्ष वनस्पतिविद् मधुसुदन बिष्टले संस्थाका मौजूदा ६० जना सदस्यहरुलाई संक्षिप्त तालिम दिँदै सहभागी सदस्यहरुमध्येबाट निर्वाचित नयाँ पदाधिकारीहरु घोषणा गरी आगामी एक वर्षका अवधिमा प्रत्येक महिना हुने मासिक बैठकमा छलफल गर्ने छुट्टाछुट्टै कार्यको फेहरिस्त योजना स्तुत गरेका थिए ।

कोषाध्यक्ष शान्ता देवकोटाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै सदस्यता शुल्क, खुसीका क्षण सहयोग, केही सदस्यहरुले स्वस्फुर्त रुपमा प्रदान गरेको आर्थिक सहयोग नै फाउण्डेशनको आर्थिक स्रोत भएको र हालसम्म स्वयंसेवी रुपमै संस्था सञ्चालन भैरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्