एनपीएलमा आज दुई खेल, चितवनका समर्थकलाई काठमाडौं ल्याउन निःशुल्क बस


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ ।

आजको पहिलो खेलमा कर्णाली याक्स अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रिनेछ । कर्णालीले यसअघि खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्क जोडेको छ । उसले जनकपुर बोल्ट्सलाई १९ रनले र विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको थियो । यता काठमाडौं गोर्खाज भने पहिलो जितको खोजीमा हुनेछ । काठमाडौंले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार व्यहोरेको थियो ।

दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । चितवनले प्रतियोगितामा एक खेल जितेको छ भने लुम्बिनी लायन्ससँगको अर्को खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँडेको थियो । तीन अङ्कसहित चितवन अङ्कतालिकाको चौथो स्थानमा छ । सुदूरपश्चिमले तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ । दुई अङ्क जोडेको सुदूरपश्चिम छैटौँ स्थानमा छ ।

यसैबीच, चितवन राइनोजले आजको खेल हेर्न काठमाडौं आउने आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । खेलको टिकट खरिद गरेका चितवनका समर्थकलाई खेल हेर्न काठमाडौं ल्याउने र खेल सकिएपछि पुनः चितवन पुर्‍याउने व्यवस्था क्लबले गरेको हो ।

चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार प्रि-टिकट लिएका समर्थकमध्ये पहिलो आउनेलाई प्राथमिकता दिने आधारमा बस सेवा उपलब्ध गराइएको छ ।

उनले भने, ‘खेलको टिकट लिएका चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म र खेल हेरिसकेपछि पुनः चितवन ल्याउने व्यवस्था गरेका छौँ ।’

उनका अनुसार प्रि-टिकट लिएर आउने समर्थकमध्ये ‘फर्स्ट कम, फर्स्ट सर्भ’ का आधारमा बस सेवा प्रदान गरिएको छ । क्लबको यो व्यवस्थाले चितवनबाट काठमाडौं आएर आफ्नो टोलीको खेल हेर्न चाहने समर्थकलाई सहज हुने अपेक्षा गरिएको छ ।