काठमाडौं ।
आमरण अनशनमा रहनुभएका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उहाँलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ। उहाँलाई लिन हेलिकोप्टर इलाम पुगेको छ।
डा. केसीको शरीरमा रगतमा चिनी (सुगर) को मात्रा घट्दै गएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो। हाल उहाँको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ। श्वासप्रश्वासमा समेत कठिनाइ देखिएपछि आइतबार रातिदेखि उहाँलाई अक्सिजन दिएर उपचार गरिएको थियो।
स्वास्थ्य अवस्था थप बिग्रिएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकहरूले आइतबार नै उहाँलाई थप सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएका थिए। नेपाल चिकित्सक संघले पनि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न सरकारसँग माग गरेको थियो।
डा. केसीको सचिवालयका अनुसार उहाँलाई काठमाडौं ल्याउन हेलिकोप्टर उडिसकेको जानकारी प्राप्त भएको छ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसीले इलामस्थित नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गर्नुभएको थियो। सत्याग्रहको तेस्रो दिनमै स्वास्थ्य अवस्था बिग्रिएपछि गत शनिबार साँझ उहाँलाई इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
डा. केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व देखिएको भन्दै विभिन्न ६ बुँदे माग अघि सार्नुभएको छ। उहाँले न्यूनतम भौतिक पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेका संस्थालाई चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको तथा विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गरिएको निर्णय खारेज गर्न माग गर्नुभएको छ।
त्यसैगरी, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता र निर्णयमा हुन सक्ने स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने उहाँको माग छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र सार्वजनिक शिक्षण संस्थामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने उहाँले बताउनुभएको छ।
सरकारसँग २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका विषयमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उहाँले राख्नुभएको छ। साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नुपर्ने उहाँको माग छ।
विशेषगरी इलाममा मेडिकल कलेज स्थापना भए इलामसहित ताप्लेजुङ, पाँचथर र तेह्रथुमका नागरिकले सहज रूपमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उहाँको भनाइ छ। यस क्षेत्रमा मेडिकल कलेज नहुँदा स्थानीय नागरिक महँगो शुल्क तिरेर अन्यत्र अध्ययन तथा उपचार गर्न बाध्य भएको उहाँले बताउनुभएको छ।
सरकार परिवर्तन भए पनि स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका नीतिमा अपेक्षित सुधार हुन नसकेको भन्दै आफूले पुनः सत्याग्रहको बाटो रोज्नुपरेको डा. केसीले स्पष्ट पार्नुभएको छ। उहाँले निजी स्वास्थ्य संस्थालाई प्रोत्साहन गर्ने तर सार्वजनिक स्वास्थ्य संस्थाको क्षमता विस्तारमा पर्याप्त ध्यान नदिने सरकारी नीतिप्रति पनि आपत्ति जनाउँदै आउनुभएको छ।











प्रतिक्रिया