काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्व स्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्कीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले पटक–पटक आमरण अनशन बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि डा. केसीले सञ्चालन गर्दै आउनुभएको अभियानलाई नजिकबाट बुझ्ने र समर्थन गर्ने व्यक्तिहरू नै मन्त्रिपरिषद्मा रहँदा पनि पछिल्लो ६ महिनामा दुई पटक अनशन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको उल्लेख गर्नुभएको छ।
सांसद कार्कीले यसअघिको सत्याग्रहका क्रममा सरकारले डा. केसीसँग गरेका सहमति किन कार्यान्वयन हुन सकेनन् भन्ने प्रश्नसमेत उठाउनुभएको छ। सरकारसँग भएका सहमति कार्यान्वयन नहुँदा पुनः अनशन बस्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सांसद कार्कीले रगतमा चिनीको मात्रा र रक्तचाप घट्नुका साथै मुटु तथा मांसपेशी दुख्ने समस्या देखिएको स्वास्थ्यसम्बन्धी सूचनाले आफूलाई दुःखी बनाएको बताउनुभएको छ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जति मलाई दुखिरहेको छ, सायद त्यति नै हाम्रो शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि दुखिरहेको होला।’
सांसद कार्कीले सरकारलाई तत्काल डा. केसीसँग वार्ता गरी सहमति कायम गर्न र विगतका सहमति कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ। आगामी दिनमा यस्ता परिस्थिति दोहोरिन नदिन समयमै समस्या पहिचान गर्ने, सरोकारवालासँग छलफल गर्ने र आवश्यक समन्वय गर्ने पद्धति विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।
‘सत्य र निष्ठाको धरोहरले यो इमानको राज्यमै पनि वृद्ध भइसकेको शरीरमार्फत पटक–पटक अग्निपरीक्षा दिनुपर्ने स्थिति नबनाइयोस्,’ उहाँले लेख्नुभएको छ।
डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच र चिकित्सा शिक्षामा हुने विकृति अन्त्यको माग राख्दै लामो समयदेखि सत्याग्रह गर्दै आउनुभएको छ। पछिल्लो अनशनका क्रममा उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि जीवनरक्षाका लागि चिकित्सक तथा विभिन्न क्षेत्रबाट सरकारलाई तत्काल पहल गर्न आग्रह भइरहेको छ।











प्रतिक्रिया