कांग्रेस महाधिवेशन: शुक्रबारदेखि वडा अधिवेशन शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन भोलि शुक्रबारदेखि शुरू हुँदै छ । मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत पहिलो चरणमा वडा अधिवेशन हुन लागेको हो ।

एकसाथ ७७ वटै जिल्लामा वडा अधिवेशन गर्ने भनिए पनि त्यो सम्भव नभएपछि शुक्रबार अधिवेशन हुन नसकेका वडाहरूको २७ गते हुने भएको छ । कांग्रेसले गाउँ/नगर अधिवेशनअगावै उपयुक्त समयमा वडा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको बताएको छ ।

जिल्लामा वडादेखि टोल तहसम्म अधिवेशनको चहलपहल भइरहँदा राजधानीमा भने केन्द्रीय नेतृत्व हत्याउने सरगर्मी बढिरहेको छ । नेतृत्वमा आउन चाहने आकांक्षी केन्द्रीय नेताहरू दैनिक गुट÷उपगुटको बैठक र छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पुनः सभापति बन्ने ध्याउन्न भित्री रणनीति मजबुत बनाउँदै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहभित्र साझा उमेद्वार बन्ने प्रयत्नमा जारी राख्नुभएको छ । अब पछाडि नफर्कने भन्दै उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गर्दै सम्पर्क कार्यालय राखेर तयारी तीव्र बनाइरहनुभएको छ । महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि नेतृत्वमा आफ्नो दाबीमा अडिग देखिनुभएको छ । कांग्रेसभित्र तेस्रो धारका रूपमा आफ्नो समूह बनाउनुभएका नेता कृष्णप्रसाद सिटौलाले पनि नेतृत्वको दाबी गरिरहनुभएको छ ।

कांग्रेस महाधिवेशनमा दुईभन्दा बढी सभापतिका उम्मेदवार भएमा १३औं महाधिवेशनको जस्तै दोस्रो चरणमा मतदान गर्नुपर्ने अनुमान गरिएको छ । कांग्रेस विधानमा दुईभन्दा बढी उम्मेदवार भएमा सभापतिमा निर्वाचित हुनको लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

१३औं महाधिवेशनमा देउवा, पौडेल र सिटौला तीन जनाले सभापतिको दाबी गर्दै उम्मेदवारी दिनुभएका थिए । पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नकटेकोले दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र पौडेलबीच प्रतिष्पर्धा भएको थियो । अघिल्लो महाधिवेशनमा पहिलो चरणमा ३ हजार १ सय ४८ मत खसेकोमा देउवाले १ हजार ५ सय ६४, पौडेलले १ हजार १ सय ६० र सिटौलाले ३ सय २४ मत पाउनु भएको थियो । अरू मत भने बदर भएको थियो । दोस्रो चरणमा देउवाले १ हजार ८ सय २२ र पौडेलले १ हजार २ सय ९६ मत ल्याउनुभएको थियो । विधानअनुसार दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने विजयी हुने व्यवस्था छ ।

अहिले १४औं महाधिवेशनमा करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि हुने भएकाले यही हाराहारीमा मत खस्ने अनुमान छ । केन्द्रीय सभापतिमा दुईभन्दा बढी उम्मेदवार भएमा २२ सय ५० भन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ । त्यसैले केन्द्रीय नेतृत्वका आकांक्षी नेताहरूको ध्यान अहिले महाधिवेशन प्रतिनिधि छनोटमा रहेको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने क्षेत्रीय अधिवेशन असोज ५ गते हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्